Sun. May 19th, 2024

गाडीको ठक्करबाट छठ बर्तालुको मृत्यु   

मलङ्गवा, २०८० मंसिर ४ गते सोमबार । सर्लाहीको हरिवन नगरपालिका-९, नोचामा आज बिहान गाडीले ठक्कर दिँदा एक छठ बर्तालु महिलाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत हरिवनको नोचामा गाडीले ठक्कर दिँदा स्थानीय ५२ वर्षीया लक्ष्मी पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सविण कार्कीले जानकारी दिनुभयो । नोचास्थित छठ घाटमा छठ पूजा गरेर घर फर्किंदै गर्नुभएका पोखरेललाई मधेस प्रदेश–०३–००१ ज ०३४२ नम्बरको गाडीले ठक्कर दिएको हो ।

महिलालाई ठक्कर दिइ चालक भाग्ने क्रममा सोही गाडीको ठक्करबाट सडक सुरक्षार्थ खटिनुभएका ट्राफिक प्रहरी हवल्दार सुबोधकुमार यादव घाइते हुनुभएको प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिनुभयो । बायाँ खुट्टा भाँचिएका हवल्दार यादवलाई उपचारका लागि लालगढ अस्पताल लगिएको छ । सडक छेउमा रोकिराखेको बागमती प्रदेश–०२–०३८ प ०३११ नम्बरको मोटरसाइकललाई समेत सो ठक्कर दिएर क्षति पु-याएको छ । चालकलाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको छ । रासस

Facebook Comments