Fri. May 17th, 2024

चिकित्सा शिक्षाको गुणस्तरमा ध्यान दिन प्रधानमन्त्रीको आग्रह

काठमाण्डू, २०८० मंसिर ४ गते सोमबार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा चिकित्सा जनशक्ति उत्पादन र रोजगारीबीचको अन्तरसम्बन्धका आधारमा अध्ययन गर्न चाहने योग्य विद्यार्थीको आकर्षण तथा देशको स्वास्थ्य सेवा प्रवाह जोडिएको बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटार आज नेपाल सरकार चिकित्सा शिक्षा आयोग बाहौँ बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत अन्य सहभागी प्रतिनिधिहरु । तस्बिर : प्रदीपराज वन्त/रासस

चिकित्सा शिक्षा आयोगको १२औँ बैठकलाई आज बालुवाटारमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले चिकित्सा शिक्षा जस्तो महत्वपूर्ण र संवेदनशील विषयको नियमन र व्यवस्थापनका लागि गठित यस आयोगबाट निरन्तर सुधारोन्मुख कार्यसम्पादन एवं यस क्षेत्रको दिशानिर्देश हुँदै आएको बताउनुभयो ।

आगामी दिनमा समेत मुलुकका लागि आवश्यक गुणस्तरीय चिकित्सा जनशक्ति उत्पादनमा कोसेढुङ्गा सावित हुनेगरी आयोगबाट कार्यसम्पादन हुँदै जाने प्रधानमन्त्रीले विश्वास व्यक्त गर्नुभयो ।

हाल उत्पादन भएका जनशक्तिका लागि सम्मानजनक रोजगारीका अवसर सिर्जना गर्दै सर्वसुलभ सेवा प्रवाहमा सुधार ल्याउनु र आगामी दिनका लागि स्वास्थ्य क्षेत्रमा आवश्यकपर्ने जनशक्तिको आँकलनका आधारमा अध्ययनको अवसर वृद्धि गर्दै लैजानु वर्तमान समयमा अपरिहार्य भएको प्रधानमन्त्रीको कथन छ ।

उहाँहरुको योगदानको प्रधानमन्त्रीले उच्च मूल्याङ्कन गर्दै धन्यवाद दिनुभयो ।

आयोगको बैठकमा पेस भएका प्रस्तावको छलफलमा सहभागी भई आफ्नो सुझावसहित प्रस्ताव स्वीकृत गर्न सहयोग पुर्‍याउनुहुने सबै सदस्यलाई धन्यवाद प्रधानमन्त्रीले धन्यवाद दिनुभयो । बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत, आयोगका उपाध्यक्ष प्रा. डा. अञ्जनीकुमार झालगायतको सहभागिता थियो । रासस

Facebook Comments