Sun. May 19th, 2024

आज शेयर बजारमा सामान्य वृद्धि, १ अर्बभन्दा धेरैकाे शेयर किनबेच

भिओके समाचार/काठमाण्डू, २०८० मंसिर ४ गते सोमबार । तिहार र छठको लामो बिदापछि खुलेको शेयर बजार नाम मात्रैको वृद्धि भएको छ । आज शेयर बजार मापक नेप्से परिसूचक १.३९ अंक बढेर १८५३.४८ विन्दुमा पुगेको  हो । नेप्से सामान्य अंकले बढे पनि आज कारोबार रकम भने वृद्धि भएको छ ।

तिहारअघि १ अर्बभन्दा कमको शेयर कारोबार भइरहेकोमा आज १ अर्ब ९ करोड ९३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । नेप्से सामान्य अंक बढे पनि आज एउटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । ग्लोबल आइएमई लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यसैगरी, कर्णाली डेभलपमेन्ट बैंकको शेयर करिब १० प्रतिशतले वृद्धि भएको छ । लामो समयदेखि अंकित मूल्यभन्दा तल रहेको समाज लघुवित्तको शेयरमूल्य आज ८ प्रतिशत बढेर १०४ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ ।

आज तीनवटा स्टकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त, सयपत्री हाइड्रोपावर र माथिल्लो मैलुङ खोला जलविद्युतको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । कारोबार रकमका आधारमा हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ७ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, सोल्टी होटलको ६ करोड ८४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

१३ उपसमूहमध्ये आज ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ । व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.४२ प्रतिशत बढेको छ । त्यस्तै, विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी वृद्धि भएको छ । होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ ।

Facebook Comments