Tue. May 21st, 2024

उपराष्ट्रपति यादवसँग चिनियाँ प्रतिनिधिमण्डलको भेट

काठमाण्डू, २०८० कात्तिक २२ गते बुधबार । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग जनवादी गणतन्त्र चीनको तिब्बत स्वशासित क्षेत्र, चिनियाँ कम्युनिष्ट पार्टीका सचिव माननीय वाङ चुनचेङको नेतृत्वमा रहेको चिनियाँ प्रतिनिधिमण्डलले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज (बुधबार) शिष्टाचार भेटवार्ता गरेको छ ।

भेटवार्तामा नेपाल र चीनबीचको सुमधुर सम्बन्धका विविध आयामहरूबारे छलफल भयो । भेटवार्ताका क्रममा उपराष्ट्रपति यादवले चुनचेङ  र चिनियाँ प्रतिनिधिमण्डललाई आफ्नो कार्यालयमा स्वागत गर्न पाउँदा खुशी लागेको बताउनु भयो । ‘गत अगष्टमा नेपाललाई ‘थिम कन्ट्री’ निर्धारण गरिएको ७ औँ चीन–दक्षिण एसिया प्रदर्शनी र २७ औँ चीन कुन्मिङ आयात–निर्यात मेलामा सहभागी हुन चीन भ्रमणमा गएको सम्झँदा खुशी लाग्दछ’ उहाँले भन्नुभयो, ‘चिनियाँ परराष्ट्र मन्त्री एवम् चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समितिका राजनीतिक ब्युरोका सदस्य महामहिम वाङ यी तथा युनान प्रान्तका अन्य नेताहरूसँगको भेटमा हामीले व्यापार प्रवद्र्धन, लगानी, पर्यटन तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा सहकार्य सुदृढ गर्ने लगायतका आपसी हितका विषयहरूमा छलफल भएको थियो । ’

राससका अनुसार उहाँले तिब्बत स्वशासित क्षेत्र हाम्रा दुई देशबीचको व्यापार, पर्यटन, संस्कृति र अन्य हितका क्षेत्रहरूमा द्विपक्षीय अन्तरक्रियाको प्रवेशद्वार भएकाले यो प्रतिनिधिमण्डलको नेपाल भ्रमणले सम्भावित सबै क्षेत्रमा नेपाल-चीन सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो । ‘हालै जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकम्पले सयौँको ज्यान जानुको साथै भौतिक पूर्वाधार र सम्पत्तिमा क्षति पुर्याएको छ । यस दुःखद घडीमा पीडा बाँड्न साथ दिएकोमा म चीन सरकार र जनताको प्रशंसा गर्न चाहन्छु ’ उपराष्ट्रपति यादवले भन्नुभयो, ‘ यस कठिन समयमा जनवादी जनतन्त्र चीन सरकारले प्रदान गरेको सहयोगका लागि म आभार प्रकट गर्दछु । ’

उहाँले नेपाल र चीनबीच घनिष्ठ र सौहार्दपूर्ण सम्बन्ध रही आएको बताउनु भयो । ‘सन् २०२६ सम्ममा अल्पविकसित देशबाट स्तरोन्नति गर्ने हाम्रो आकाङ्क्षा रहेको सन्दर्भमा तीव्र आर्थिक-सामाजिक रुपान्तरणको चिनियाँ अनुभवबाट हामी सिक्न चाहन्छौँ’ उपराष्ट्रपति यादवले भन्नुभयो । उहाँले अन्तरआवद्धता, पूर्वाधार विकास, व्यापार, पर्यटन, लगानी र जनस्तरको सम्बन्ध जस्ता महत्वपूर्ण क्षेत्रमा चीनसँगको साझेदारीलाई नेपालले प्रगाढ बनाउन चाहेको बताउनु भयो । उहाँले पूर्व प्रधानमन्त्री ली खछ्याङको दुखद निधनमा चीन सरकार र जनताप्रति गहिरो समवेदना व्यक्त गर्नुभयो ।

भेटवार्ताका क्रममा जनवादी गणतन्त्र चीनको तिब्बत स्वशासित क्षेत्र, चिनियाँ कम्युनिष्ट पार्टीका सचिव माननीय वाङ चुनचेङले आफ्नो यो भ्रमण नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमणका क्रममा भएको समझदारी लागु लगाउने उद्देश्यले भएको बताउनु भयो ।

‘नेपालमा हालै गएको शक्तिशाली भूकम्पमा परी निधन भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भूकम्प पीडितप्रति सहानुभूति प्रकट गर्दछु ’ उहाँले भन्नुभयो, ‘पुनः निर्माणमा चीन सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । ’ उहाँले दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनोस् भन्ने चाहना चीनको रहेको जनाउँदै नेपाल-चीनबीच उच्चस्तरीय र जनस्तरको भ्रमण आदान प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले उपराष्ट्रपति यादवलाई तिब्बत भ्रमणमा आउन आग्रह समेत गर्नुभयो ।

Facebook Comments