Thu. May 2nd, 2024

न्यायको प्रतिक्षामा रामआशिष   

जनकपुरधाम, २०८० कात्तिक २३ गते बिहीबार । धनुषाको हंसपुर नगरपालिका-४ मणिपट्टिका ७० वर्षीय रामआशिष दास अवकाशप्राप्त शिक्षक हुनुहुन्छ । उहाँ दश वर्षअघि माध्यमिक विद्यालय शिक्षकबाट अवकाश हुनुभएको हो । दासले अवकाश हुँदा प्राप्त रकमबाट जनकपुरधाम-१६ पुल्चोकमा किराना पसल सञ्चालन गरी त्यसैबाट जीविकोपार्जन गर्दै आउनुभएको छ ।

वि.सं. २०८० वैशाख २४ गतेसम्म दासको व्यवसाय र समय ठीकठाक चलिरहेको थियो । तर गत वैशाख २५ गते भने उहाँले अप्रत्यासित घटना सामना गर्नुपर्यो । राति ९ बजेको समयमा उहाँ फिल्मीशैलीमा कुटपिट र लुटपाटमा पर्नुभयो । सो रात दाससँग भएको रु एक लाख ५१ हजार नगद लुटपाट भयो । साथै उहाँलाई १५–२० वटा कागजको पानामा औँठा छाप लगाइयो । स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेर उद्धार गर्यो ।

“राति ९ बजेको थियो, म पसल बन्द गरेर घर जाँदै थिए, नकाबधारी समूहले फिल्मीशैलीमा सडकमै कुटपिट गरी नगद लुटपाट गरे”, दासले भन्नुभयो, “नकाबधारीले पेस्तोल, फलामे रड र लट्ठी बोकेका थिए । मैले रामविलास दास र इन्द्र दासलाई मात्र ठम्याउन सके । उनीहरूले रोडभन्दा दुई सय मिटरजति उत्तरतर्फ खेतमा लगेर लुटपाट र कुटपिट गरे । कागजमा मेरो औँठा छाप लगाएर भागे । यो सबै घटना प्रहरीलाई थाहा छ ।”

घटना भएको छ महिना पूरा हुँदैछ । अहिलेसम्म दासको जाहेरी दर्ता भएको छैन । लुटपाटको भोलिपल्ट अर्थात् गत वैशाख २६ गते कपिलेश्वर प्रहरी चौकी र वैशाख २७ गते जिल्ला प्रहरी कार्यालय धनुषामा घटनाबारे जाहेरी दर्ता गराउन पुगे पनि पहिले घटनाबारे बुझ्छौँ अनि दर्ता गरौँला भनेर त्यहाँबाट फर्काइएको दासले बताउनुभयो ।

मङ्गलबार पत्रकार सम्मेलन गरी दासले गुनासो गर्नुभयो, “मेरो जाहेरीको विषयमा प्रहरीसित पटक–पटक जानकारी लिन खोजेँ । तर बुझ्दैछौँ भनेर आलटाल गर्ने गरेका छन् । गत साउन २१ गते जनकपुरधामस्थित जिल्ला सरकारी वकिल कार्यालयलाई निवेदन दिएको छु । सो कार्यालयको चलानी नं ३२१ पत्रसहित हुलाकमार्फत जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी पठाएको थिएँ । तर कुनै सुनुवाइ भएको छैन ।”

राससका अनुसार करिब २० वटा कागजमा औँठा छाप लगाइएकामा एउटा कागज भने मिटरब्याजी शैलीमा रकम लिएको भनेर सार्वजनिक भएपछि आफू जालसाझीको सिकार भएको र त्यो विषय जानकारी गराउँदा पनि प्रहरीले सहयोग नगरेको दासको गुनासो छ । सार्वजनिक भएको सो कागजमा घटना घटेको छ वर्ष पुरानो मिति राखेर अर्थात् विसं २०७४ माघ १४ गते दासले महोत्तरीको लोहरपट्टी-५ का ४२ वर्षीय अशोककुमार ठाकुरबाट सयकडा १० प्रतिशत ब्याजमा रु बीस लाख ऋण लिएको उल्लेख छ ।

“बीसवटा कागजमा औँठा छाप गरिएकामा एउटा मात्र सार्वजनिक भएको छ । त्यसपछि म निकै विक्षिप्त छु, बाँकी कागज सार्वजनिक हुन बाँकी नै छन्”, दासले भन्नुभयो, “साहु भनिएका ठाकुरले ऋण असुलउपर गरिपाउ भनी कानुनी उपचारमा गएको जानकारी पाएको छु । अब भोलिपर्सी अरु कागज पनि आउलान् । म प्रधानाध्यापकबाट अवकाश पाएको व्यक्ति, यति ठूलो रकम कहिल्यै कसैसँग ऋण लिएको छैन । वृद्धावस्थामा दुःख पाए । कारण बुझ्न प्रहरीलाई गुहारेको थिएँ । तर न्याय पाइनँ । अब हदम्यादभित्रै अदालत जान्छु ।”

Facebook Comments