चीनद्वारा भूकम्पपीडितलाई प्रदान गरिएको राहत सामग्री ग्रहण
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जाजरकोट भूकम्पपीडितका लागि मित्रराष्ट्र चीनबाट उपलब्ध गराएको आपत्कालीन सहयोग सामग्री नेपालका लागि चिनियाँ राजदुत छन् सोङबाट ग्रहण गर्दै । तस्बिर : कृष्ण दवाडी/रासस
गण्डकी, २०८० कात्तिक २२ गते बुधबार । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चीन सरकारले भूकम्पपीडितका लागि प्रदान गरेको राहत सामग्री ग्रहण गर्नुभएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज आयोजित आपत्कालीन सहयोग हस्तान्तरण समारोहमा नेपालका लागि चिनियाँ राजदूत छन् सोङले चीन सरकारले प्रदान गरेका राहत सामग्री उपप्रधानमन्त्री श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो ।

चीनले पीडितका लागि प्रदान गरेका उच्च गुणस्तरका ब्ल्याङ्केट, टेन्टलगायत सामग्री चीनको छन्दू विमानस्थलबाट दुईवटा विमानमार्फत आज पोखरा विमानस्थलमा ल्याइएको हो ।

राससका अनुसार सहयोग हस्तान्तरण समारोहमा उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले नेपाललाई सङ्कट पर्दा जहिले पनि चीनबाट सहयोग प्राप्त हुने गरेको बताउनुभयो । नेपाल र चीनबीचको इतिहासदेखिको सम्बन्ध सार्वभौमसत्ता, स्वतन्त्रता र पारस्परिक हितमा आधारित रहेको उहाँले बताउनुभयो ।

“नेपालको आर्थिक विकाससँगै सङ्कटको बेला जहिले पनि चीनले सहयोग गर्दै आएको छ । चीन सरकारले हामीलाई सङ्कटका समयमा सहयोग र सहानुभूति प्रदान गर्दै आएको छ”, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “वि.सं. २०७२ को भूकम्प, कोभिड महामारी र अहिले जाजरकोटमा गएको भूकम्पका बेला पनि चीन हामीसँगै छ ।”

नेपालका लागि चिनियाँ राजदूत सोङले दुई देशबीचको सम्बन्ध मित्रताको रहेको जनाउँदै सङ्कटमा पनि एकअर्कालाई सहयोग गर्दै अघि बढेको बताउनुभयो । केही दिनअघि गएको भूकम्पबाट भएको क्षतिप्रति उहाँले दुःख व्यक्त गर्नुभयो । “दुःखको बेला नेपाली जनता र नेपाल सरकारसँग चीन साथमा छ,” उहाँले भन्नुभयो ।
राससका अनुसार चिनियाँ राष्ट्रपतिले नेपालमा भूकम्पबाट भएको क्षतिप्रति घटनालगत्तै नेपालका राष्ट्रपति र प्रधानमन्त्रीलाई समवेदना सन्देश पठाएर पीडित परिवारप्रति सहानुभूति प्रदान गर्नुभएको राजदूत सोङले जानकारी दिनुभयो ।
चीनद्वारा भूकम्पपीडितका लागि प्रदान गरिएका राहत सामग्री सशस्त्र प्रहरीले प्रभावित क्षेत्रमा पठाउने तयारी गरेको कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरले जानकारी दिनुभयो ।

