Tue. May 21st, 2024

राष्ट्रपति पौडेलद्वारा जाजरकोटको भूकम्पग्रस्त क्षेत्रको निरीक्षण(फोटो फिचरसहित)

राष्ट्रपति रामचन्द्र पौडेल जाजरकोटको भेरी नगरपालिका-३ माथिल्लो थाप्लेमा भूकम्पबाट क्षति पुर्‍याएको संरचनाको मङ्गलबार अवलोकन गर्नुहुँदै । तस्बिर : हेमन्त केसी/रासस

काठमाण्डू, २०८० कात्तिक २१ गते मंगलबार । राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुग्नुभएको छ । उहाँले आज जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिनुभएको छ । घाइतेहरूले उपचार, खाद्यन्न, घर निर्माणसहित बाँच्ने आधारको व्यवस्था गरिदिन राष्ट्रपति पौडेलसँग आग्रह गरेका थिए ।

राष्ट्रपति रामचन्द्र पौडेल जाजरकोटको भेरी नगरपालिका-३ माथिल्लो थाप्लेमा भूकम्पबाट क्षति पुर्‍याएको संरचनाको मङ्गलबार अवलोकन गर्नुहुँदै । तस्बिर : हेमन्त केसी/रासस

राष्ट्रपति पौडेलले भूकम्प प्रभावितलाई आवश्यक बसोबास, खाद्यन्नलगायत सबै कुराको प्रबन्ध हुने र त्यसका लागि आफूले सरकारसँग कुरा गर्ने बताउनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

राष्ट्रपति रामचन्द्र पौडेल जाजरकोटको भेरी नगरपालिका-३ माथिल्लो थाप्लेमा भूकम्पबाट क्षति पुर्‍याएको संरचनाको मङ्गलबार अवलोकन गर्नुहुँदै । तस्बिर : हेमन्त केसी/रासस

राष्ट्रपतिको भनाइ उदृत गर्दै सल्लाहकार पोखरेलले भन्नुभयो, “तपाईंहरुका लागि अल्पकालीन र दीर्घकालीन आवश्यकताको पहिचान गरी सोको व्यवस्था हुन्छ । चिन्ता गर्नु पर्दैन । म सरकारसँग कुरा गर्छु ।” सो अवसरमा जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भूकम्पबाट भएको क्षतिबारे राष्ट्रपतिलाई जानकारी गराउनुभएको थियो भने घाइतेहरूको अवस्थाबारे जिल्ला अस्पतालका चिकित्सकहरूले जानकारी गराउनुभएको थियो ।

भूकम्पबाट प्रभावितहरुको जनधनको क्षतिबारे जानकारी लिन मङ्गलबार जाजरकोट आउनुभएका राष्ट्रपति रामचन्द्र पौडेल जाजरकोट जिल्ला अस्पतालमा पुगी भूकम्पमा परी घाइते भएका बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै । तस्बिः हेमन्त केसी, रासस

गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकको अवस्था बुझ्न राष्ट्रपति पौडेल आज सुर्खेतबाट जाजरकोट पुग्नुभएको हो । उहाँका प्रेस सल्लाहकार पोखरेलका अनुसार राष्ट्रपति पौडेल सदरमुकाम खलङ्गा, रामीडाँडा, नलगाड तथा रुकुम पश्चिमको आठविसकोट पुगेर भूकम्पबाट प्रभावितको राहत र उद्धारको अवस्थाका बारेमा जानकारी लिनुहुनेछ ।

भूकम्पको केन्द्रबिन्दु जाजरकोटको रामीडाँडामा भुकम्पले पुर्‍याएको क्षति अवलोकनका क्रममा मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेल, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालगायत। तस्बिर सौजन्य : राष्ट्रपति कार्यालय /रासस

राष्ट्रपति पौडेलका साथमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, जाजरकोटका प्रदेश सांसद, प्रधानसेनापति सहभागी हुनुहुन्छ ।

भूकम्पको केन्द्रबिन्दु जाजरकोटको रामीडाँडामा भुकम्पले पुर्‍याएको क्षति अवलोकनका क्रममा मङ्गलबार स्थानीयसँग राष्ट्रपति रामचन्द्र पौडेल । तस्बिर सौजन्य : राष्ट्रपति कार्यालय /रासस

भूकम्पपछिको अवस्था अनुकूल नभएको भन्दै राष्ट्रपति पौडेलले कात्तिक २२ गतेदेखि तय भएको आफ्नो युरोप भ्रमण सोमबार स्थगित गर्नुभएको थियो । रासस

भूकम्पको केन्द्रबिन्दु जाजरकोटको रामीडाँडामा भुकम्पले पुर्‍याएको क्षति अवलोकनका क्रममा मङ्गलबार स्थानीयसँग राष्ट्रपति रामचन्द्र पौडेल । तस्बिर सौजन्य : राष्ट्रपति कार्यालय /रासस
Facebook Comments