Sun. May 19th, 2024

शेयर बजार दोहोरो अंकले वृद्धि

ID:16774559

भिओके समाचार/काठमाण्डू, २०८० कात्तिक २० गते सोमबार । गत साताको मंगलबारदेखि निरन्तर ओरालो लागिरहेको शेयर बजार आज दोहोरो अंकले बढेको छ । साताको दोस्रो कारोबार दिन सोमवार शेयर बजार मापक नेप्से परिसूचक २१.३० अंक बढेर १८४७.५४ विन्दुमा पुगेको छ ।

नेप्से बढे पनि आज कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा केही घटेको छ । हिजो ९७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएकोमा आज ९३ करोड ८९ लाख २९ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।आज हाथवे इन्भेष्टमेन्टको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य ३३ रुपैयाँ २० पैसा बढेर ३६५ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको शेयरमूल्य ९.९३ प्रतिशत बढेको छ भने आशा लघुवित्तको शेयरमूल्य ६ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । आज शेयरमूल्य घटेका स्टकहरुको मूल्य गिरावट दर ५ प्रतिशतभन्दा कम रहेको छ । लक्ष्मी लघुवित्तको शेयरमूल्य आज सर्वाधिक ४.२८ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा आज सोल्टी होटल शीर्ष स्थानमा रहेको छ । सो होटलको आज ६ करोड ४३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको साढे ५ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने हाथवे इन्भेष्टेमन्ट र हिमालयन बैंकको संस्थापक शेयर साढे ३ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

आज १३ वटै उपसमूहको परिसूचक बढेका छन्, जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.७३ प्रतिशत बढेको छ । त्यस्तै, व्यापार र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने विकास बैंक, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।

Facebook Comments