Sun. Nov 24th, 2024

जाजरकोट भूकम्प अप्डेट: जाजरकोट र रुकुम पश्चिममा १२८ जनाको मृत्यु

गए राति गएको भूकम्पमा परि घाइते जाजरकोट भेरी नगरपालिका-३ का २२ वर्षीया इसा शाहीको भेरी अस्पताल नेपालगन्जमा उपचार हुँदै । उहाँको टाउको र कानमा चोट लागेको छ । तस्बिर : युवराज पाण्डे/रासस

काठमाण्डू, २०८० कात्तिक १८ गते शनिबार । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म १ सय २८ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा १ सय ५५ जना घाइते भएका छन् ।

जाजरकोटमा गए राति गएको भूकम्पमा परी घाइते भएकालाई उपचारका लागि सेनाको हेलिकप्टरबाट सुर्खेत ल्याइएका घाइतेलाई सूर्खेतस्थित प्रदेश अस्पताल लग्दै नेपाली सेनाको टोली । तस्बिर : सुरेश आचार्य/रासस

सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन् । यस्तै रुकुम पश्चिममा भूकम्पबाट ३६ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन् ।

ः भूकम्पबाट घाइते भएका जाजरकोट भेरी नगरपालिका– १ र रुकुम पश्चिम सानीभेरी गाउँपालिका– ४ का घाइतेलाई जिल्ला अस्पताल सल्लेले थप उपचारका लागि नेपालगन्ज रिफर गरेपछि उनीहरुलाई नेपालगन्ज लगिँदै । तस्बिरःपरिचन्द्र खत्री

प्रहरी नायव उपरीक्षक थापाका अनुसार भूकम्प प्रभावितको उद्धारमा जाजरकोटस्थित आश्रिम गुल्मबाट सशस्त्र प्रहरी नायव उपरीक्षक विकाश थापाको नेतृत्वमा ६७ जनाको टोली खटिएको छ । यस्तै रुकुम पश्चिमस्थित नं ४७ गुल्मबाट सशस्त्र प्रहरी निरीक्षक झक्कुप्रसाद शर्माको नेतृत्वमा २४ जना तथा नं ४७ गुल्मबाट सशस्त्र प्रहरीका बरिष्ठ नायव निरीक्षक बलबहादुर थापाको नेतृत्वमा ११ जनाको टोली भूकम्प प्रभावित क्षेत्रमा खटिएको उहाँले जानकारी दिनुभयो । भूकम्पका कारण रोल्पामा एक जना घाइते भएका छन् । त्यहाँ मानवीय क्षति भएको छैन ।

भूकम्प प्रभावितको उद्धार तथा मद्दतका लागि सशस्त्र प्रहरी बल नं ३२ गण सुर्खेतबाट ३५ जनाको टोली जाजरकोटमा खटिएको छ । यस्तै नं ६ बाहिनी सुर्खेतबाट एम्बुलेन्ससहित चिकित्सक टोली जाजरकोटमा खटिएको छ । प्रहरी नायव उपरीक्षक थापाका अनुसार नं २९ गण दाङ र आश्रित गुल्म पूर्वी रुकुमबाट पनि टोली प्रमभावित क्षेत्रमा खटिएको छ । बाँकेस्थित न. ४२ रिजर्भ गणबाट २५ जनाको टोली जाजरकोटमा खटिएको छ ।

यस्तै नेपाल एपिएफ अस्पताल बलम्बुबाट डा. रोशन पराजुलीसहितको नौ जनाको चिकित्सक टोली नेपाली सेनाको स्काइ ट्रकमार्फत जाजरकोट पठाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

यसैगरी जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाको टोली उद्धार तथा राहत कार्यमा खटिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

गए राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भुकम्प गएको थियो । रासस

Facebook Comments