Tue. May 21st, 2024

प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटेरेस लुम्बिनीमा

- महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेस मङ्गलबार बुद्ध जन्मस्थल लुम्बिनीमा शान्ति दीप हुँदै मायादेवी मन्दिर जानुहुँदै । तस्बिर : भरत केसी/रासस

लुम्बिनी, २०८० कात्तिक १४ गते मंगलबार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र  संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनी आइपुग्नुभएको छ । प्रधानमन्त्री प्रचण्ड महासचिव गुटेरेसलाई स्वागत गर्न उहाँभन्दा पहिले नै लुम्बिनी आइपुग्नु भएको हो ।

अन्नपूर्ण बेसक्याम्पबाट आजै भैरहवा आउनुभएका महासचिव गुटेरेसलाई स्वागत गर्न प्रधानमन्त्री प्रचण्ड लुम्बिनी पुग्नु भएको प्रधानमन्त्री कार्यालय सम्वद्ध श्रोतले जानकारी दिएको छ । लुम्बिनीमा प्रधानमन्त्री प्रचण्डलाई लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, लुम्बिनी विकास कोषका उपाध्यक्ष डाक्टर ल्यारकल लामालगायतले स्वागत गर्नुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनीमा मङ्गलबार आयोजित कार्यक्रममा सहभागी हुनुहुँदै। तस्बिर : भरत केसी/रासस

सुरक्षा व्यवस्थालाई ध्यान दिँदै आज बिहानदेखि मायादेवी मन्दिरमा सर्वसाधारणको प्रवेश निषेध गरिएको छ भने तीन तहको सुरक्षा घेरा बनाइएको छ । गुटेरेस लुम्बिनी भ्रमणमा आउने संयुक्त राष्ट्रसङ्घका छैटौँ महासचिव हुनुहुन्छ । गुटेरेसको लुम्बिनी भ्रमण प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा हुने भएकाले यसको महत्व बढ्ने कोषका उपाध्यक्ष डाक्टर ल्हारक्याल लामा (खेन्पो छिमे)ले बताउनुभयो ।

उपाध्यक्ष लामाले लुम्बिनीको विकास र संवद्र्धनमा संयुक्त राष्ट्रसङ्घको भूमिकालाई आगामी दिनमा थप प्रगाढ बनाउनसमेत भ्रमण फलदायी हुनेमा विश्वास व्यक्त गर्नुभयो । गुटेरेसलाई लुम्बिनीमा रहेका विहार, बौद्धधर्मका गुरु, भिक्षुभिक्षुणीसहित लुम्बिनी सांस्कृतिक नगरपालिकाका आमा समूह, थारूलगायत विभिन्न जातीय समूह र होटल व्यवसायीले समेत शान्तिदीपदेखि मायादेवी मन्दिरको दुवैतर्फ बसेर स्वागत गर्नेछन् । गुटेरेसले मायादेवी मन्दिर, बुद्धजन्म स्मारक, पुष्पकरणी पोखरी, अशोकस्तम्भको भ्रमण गर्ने कार्यसूची छ ।

उहाँलाई मायादेवी मन्दिरको दक्षिणतर्फ रहेको पुष्पकरणी पोखरीको छेउमा रहेको पीपलको रूखमुनि स्वागत गर्ने कार्यक्रम छ । लुम्बिनीमा करिब डेढ घण्टा बिताएपछि गुटेरेस काठमाडौँ फर्कनुहुनेछ । कोषका तर्फबाट गुटेरेसलाई मायाको चिनो प्रदान गरिनेछ । साथै अतिथि पुस्तकमा हस्ताक्षरपछि महासचिव गुटेरेसले सञ्चारमाध्यमसमक्ष आफ्नो धारणा राख्नुहुने कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले जानकारी दिनुभयो । रासस

Facebook Comments