Mon. Dec 23rd, 2024

संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेस नेपालमा

- महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण

नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नु भएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस । तस्बिरः किरणराज विष्ट, रासस

काठमाण्डू, २०८० कात्तिक १२ गते आईतबार । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आज यहाँ आइपुग्नुभएको छ । उहाँलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गर्नुभयो ।

नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नु भएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई स्वागत गर्दै परराष्ट्रमन्त्री नारायणप्रकाश साउद । तस्बिरः किरणराज विष्ट, रासस

सो अवसरमा नेपाल सरकारका उच्च अधिकारी, नेपालस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयका प्रतिनिधिलगायत उपस्थित हुनुहुन्थ्यो । महासचिव गुटेरेसको स्वागतमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।

महासचिव गुटेरेसले भ्रमणको पहिलो दिन आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उहाँको कार्यालयमा शिष्टाचार भेट गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपाली सेनाले प्रदान गरेको सम्मान गारत ग्रहण गर्नुहुँदै । आज उहाँ काठमाडौँ आइपुग्नु भएको हो । तस्बिरः किरणराज विष्ट, रासस

महासचिव गुटेरेसले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बेग्ला-बेग्लै शिष्टाचार भेट गर्नुहुनेछ ।

उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री साउदसँग समेत महासचिव गुटेरेसको छुट्टाछुट्टै भेटवार्ता हुनेछ । भेटवार्तापछि उहाँले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्नुहुनेछ ।

प्रधानमन्त्री प्रचण्डले महासचिव गुटेरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्नुहुनेछ । भ्रमणका क्रममा सोमबार उहाँ नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानुहुनेछ । आगामी मङ्गलबार अपराह्न ४ः०० बजे उहाँले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।

सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घको महासचिव भएपछि पहिलोपटक नेपाल आउनु भएका गुटेरेसले यहाँको शान्ति प्रक्रिया, दिगो विकास, जलवायु परिवर्तनलगायत विषयमा छलफल गर्नुहुने मन्त्रालयले जनाएको छ । राष्ट्रसङ्घका महासचिवको करिब १५ वर्षपछि नेपालमा हुन लागेको यस भ्रमणलाई कूटनीतिक क्षेत्रमा महत्वका साथ हेरिएको छ । प्रधानमन्त्री प्रचण्डको निमन्त्रणामा महासचिव गुटेरेस औपचारिक भ्रमणका क्रममा नेपाल आउनुभएको हो । रासस

Facebook Comments