Tue. Dec 24th, 2024

राष्ट्रसङ्घका महासचिव गुटेर्रेस भोली नेपाल आउनुहुँदै

काठमाण्डू, २०८० कात्तिक ११ गते शनिबार । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस नेपालको औपचारिक भ्रमणका लागिभोलीकाठमाडौं आइपुग्नुहुने भएको छ ।

नेपाल सरकारका विभिन्न निकायले उहाँको भ्रमणको आवश्यक पूरा गरेको छ ।आपसी भाइचारा र शान्तिको सन्देश विश्वलाई दिने उद्देश्यसहित महासचिव गुटेर्रेसको नेतृत्वमा संयुक्त राष्ट्रसङ्घको उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आउन लागेको हो । विश्वका विभिन्न देशबीच आपसी मतभेदसँगै युद्ध र कलहमा जेलिइरहेका बेला महासचिव गुटेर्रेसको शान्ति भूमि नेपालको भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

परराष्ट्र मन्त्रालयले दिएको जानकारी अनुसार महासचिव गुटेर्रेस कतार एयरलाइन्सको जहाजबाट भोली आइतबार दिउँसो १ बजे नेपाल अवतरण गर्नुहुने छ । महासचिव गुटेर्रेस प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निमन्त्रणामा कात्तिक १२ गते देखि १५ गतेसम्म चारदिने भ्रमणका लागि नेपालमा रहनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । सन् २०१७ मा महासचिवको पदभार ग्रहण गरेपछि गुटेर्रेसले पहिलो पटक नेपाल भ्रमण गर्न लाग्नुभएको हो ।

नेपालका शान्ति सैनिकले विश्व शान्तिका लागि पु¥याएको योगदानको उच्च कदर गर्दै विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा उहाँले पटक पटक नेपालको प्रशंसा गर्नुभएको छ । नेपाल भ्रमणमा रहँदाको अवसर पारेर नेपाल सरकारले कात्तिक १४ गते सङ्घीय संसद्मा सम्बोधन गर्नका लागि कार्यसूची तय गरेको छ । त्यसअघि राष्ट्रसङ्घका महासचिव गुटेर्रेसले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्नुहुने कार्यक्रम रहेको छ । त्यस्तै प्रधानमन्त्री प्रचण्डसँग विशेष भेटवार्ता गर्नुहुने प्रधानमन्त्री कार्यालयले जनाएको छ।शान्ति भूमि नेपालमा पछिल्लो समय जलवायु परिवर्तनको असरले सर्वोच्च शिखर सगरमाथासहितका हिमालय क्षेत्रमा पारेको कडा असरबारे पनि उहाँको गम्भीर चासो रहिआएको छ ।

शक्तिशाली मुलुकको औद्योगिक विकासले बढाएको कार्बन उत्सर्जनका कारण बढ्दो विश्वव्यापी तापक्रमले हिमालको हिउँ पग्लँदै जानु विश्वकै चासोको विषय रहेको छ । त्यसको प्रत्यक्ष अवलोकन गर्दै हिमाली क्षेत्रका प्रभावित समुदायसँग महासचिव गुटेर्रेसले कुराकानी गर्नुहुने मन्त्रालयले उल्लेख गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसङ्घका महासचिवको नेपाल भ्रमणबाट अन्तराष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा थप अभिवृद्धि हुने विश्वास व्यक्तगर्नुभएको छ । रासस

Facebook Comments