Thu. Dec 26th, 2024

प्रधानसेनापति प्रभुराम शर्मा चीन प्रस्थान

काठमाण्डू, २०८० कात्तिक १० गते शुक्रबार । प्रधानसेनापति प्रभुराम शर्मा जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि आज चीनको राजधानी पैचिङ प्रस्थान गर्नुभएको छ ।

उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षा सचिव किरणराज शर्मा र बलाध्यक्ष रथी सीताराम खड्काले बिदाइ गर्नुभयो । भ्रमणका क्रममा प्रधानसेनापति शर्मा पैचिङमा आयोजना हुने पैचिङ चिङसान फोरम समुद्घाटन समारोहमा सहभागी हुने तथा उहाँ र चिनियाँ जनमुक्ति सेना, सिएमसीका चिफ अफ स्टाफ जनरल लिउ चेनलीबीच भेटवार्ता हुने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । साथै भ्रमणका क्रममा उहाँले सियान, साङ्घाई र क्वाङ चौमा अवस्थित चिनियाँ जनमुक्ति सेनाका विभिन्न एकाइ तथा शिक्षण संस्थाको भ्रमण गर्नुहुने कार्यक्रम छ । उहाँ यही कात्तिक १६ गते स्वदेश फर्कनुहुनेछ ।

भ्रमण दलमा मध्यपूर्वी पृतनापति उपरथी प्रेमध्वज अधिकारी र प्रधानसेनापतिको सैनिक सहायक तथा स्टाफ अधिकृत हुनुहुन्छ । प्रधानसेनापतिको अनुपस्थितिमा बलाध्यक्ष रथी सीताराम खड्काले कायममुकायम प्रधानसेनापति भई कार्यभार सम्हाल्नुहुने निर्देशनालयले जनाएको छ ।

Facebook Comments