Sun. Dec 22nd, 2024

गाजा क्षेत्र कतै पनि सुरक्षित छैन : संयुक्त राष्ट्रसङ्घ

गाजा, प्यालेष्टाईन, २०८० कात्तिक ९ गते बिहीबार । संयुक्त राष्ट्रसङ्घले गाजाको कुनै पनि क्षेत्र सुरक्षित नभएको बताएको छ ।

राष्ट्रसङ्घका अनुसार अपेक्षित स्थल आक्रमणको तयारीमा इजराइली हवाई हमलाहरु बढिरहेका छन् । अक्टोबर ७ मा हमासले गरेको आक्रमणको जवाफी हमलामा इजराइलले प्यालेस्टिनी क्षेत्रका लगभग सबै ठाउँमा आक्रमण गरेकाले मानिसहरूसंग केही विकल्प बाँकी नरहेको राष्ट्रसङ्घले जनाएको छ । प्यालेस्टिनी क्षेत्रका लागि संयुक्त राष्ट्रङ्घका मानवीय संयोजक लिन हेडसनले गाजा कतै पनि सुरक्षित नभएको जानकारी दिनुभएको छ ।

यसैबीच इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले इजराइल आफ्नो अस्तित्वको लडाइँमा रहेको र हमास विरुद्ध चाँडै स्थल आक्रमणको तयारी गरिरहेको बताउनु भएको छ । उहाँले हमास विरुद्धको युद्धको लक्ष्य ‘देशलाई बचाउनु’ रहेको पनि प्रस्ट पार्नुुभएको छ । तर प्रधानमन्त्री नेतान्याहुले कहाँ र कहिले आक्रमण सुरु गर्न लागेको हो भन्नेबारे केही बताउनु भएको छैन ।

प्रधानमन्त्री नेतान्याहुले हमासका सबै सदस्य मृत व्यक्ति भएको आरोप लगाउनुु भएको छ । मुलुकलाई बचाउनु र जित हासिल गर्नु नै युुद्धको लक्ष्य भएको उल्लेख गर्दै उहाँले इजराइली कारवाहीमा हजारौँ आतङ्ककारी मारिएको र यो सुरुआत मात्र भएको बताउनुभयो । उहाँले गाजाका गैरलडाकूहरूलाई फेरि पनि दक्षिणी गाजातिर जान आग्रह गर्नुभयो । इजराइलको पछिल्ला आक्रमणबाट गाजाका निर्दोस मानिसहरुले ज्यान गुमाउनु् परेको भन्दै राष्ट्रसङ्घले चिन्ता व्यक्त गरेको छ । सिन्ह्वा

Facebook Comments