Sun. May 19th, 2024

आज बडादशैँको मुख्य दिन विजयादशमी, टीकाको उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा

रमेश हतुवाली, काठमाण्डू, २०८० कात्तिक ७ गते मंगलबार । नेपालीहरुको महान चाड बडादशैँ अन्तर्गत दशैँको मुख्य दिन आज विजयादशमी, मान्यजनको हातबाट टीका, जमरा लगाएर र आशीर्वाद लिएर विजयादशमी मनाइँदै छ ।

टीकाको साइत खोजेर लगाउनेहरुका लागि बिहान ११ बजेर २ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिकाअनुसार घटस्थापनादेखि पूजा-आराधना गरिएकी देवीलाई आजबिहान १० बजेर ३७ मिनेटमा विसर्जन गरी ११ बजेर २ मिनेटको साइतमा टीका लगाउन सकिनेछ । यद्यपि साइत नखोज्नेहरुले आज दिनभर जुन सुकै बेला टीका लगाउन सक्नेछन् ।

टीका लगाउने व्यक्तिपूर्व फर्केर बस्ने र लगाइदिने व्यक्तिले उत्तर पश्चिम फर्केर लगाइदिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजय प्राप्तीको प्रतीकका रुपमा मनाइने विजयादशमी दशैँको महत्वपूर्ण दिन हो । देवीको प्रसादका रूपमा आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ  ।

मान्यजनबाट टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाइन्छ । जमराले विभिन्न रोगव्याधिमा औषधिको रुपमा काम गर्ने तथ्य वैज्ञानिक रुपमा समेत पुष्टि भइसकेको छ ।

विगतमा कोरोना महामारीले केही खल्लो भएको दशैँ यसवर्ष धेरै उत्साहका साथ मनाइँदैछ । दशैँ मनाउन झण्डै २५ लाख मानिसहरुले काठमाण्डू उपत्यका छोडेर गाउँघर पुगेका छन् । त्यस्तै भारत र विदेशमा रहेकाहरु पनि दशैँका लागि मुख्य थलोमा फर्किएका छन् ।

Facebook Comments