Mon. Apr 29th, 2024

नवरात्रको नवौं दिन आज सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

काठमाण्डू, २०८० कात्तिक ६ गते सोमबार । नेपालीहरूको महान् पर्व बडा दशैं अन्तर्गत नवरात्रको नवौं दिन आज दुर्गा भवानीका नौ रुपमध्ये नवौं रूप सिद्धिदात्री देवीको पूजा आराधना गरिँदैछ ।

बडादशैँमा घटस्थापना गरेर जमरा राखेको दिनदेखि नौ दिनसम्म दुर्गा भवानीका विभिन्न नौ वटा फरक-फरक रूपहरूको पूजा गर्ने परम्परा रहेको छ । त्यसै अन्तर्गत आज सिद्धिदात्री देवीको पूजा आराधना गरिदैछ । नवौं दिनमा सिद्धिदात्री देवीको पूजा तथा आराधाना गर्नाले सिद्धि प्राप्त हुने विश्वास रहेको पाइन्छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् दुर्गा पक्षको नवौं दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गर्दै घरघरमा महानवमी पर्व मनाउने परम्परा छ । यो दिन सिद्धिदात्री देवीलाई चना, हलुवा, पूरीको भोग लगाउनाले असीम कृपा प्राप्त हुने धार्मिक विश्वास रहेको छ । यो दिन घरमा कन्या पूजा गर्नुको पनि ठूलो महत्व रहेको छ । यसले घरमा सुख समृद्धि र खुशीको वास हुन्छ ।

आजका दिन घटस्थापनाका दिन राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना, दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ । पशुबलि नदिनेहरूले भने आजको दिन आ-आफ्नो कुल परम्परा अनुसार कुभिण्डो, घिरौंला र जटा नरिवलको बलि दिने परम्परा रहेको छ ।महानवमीका अवसरमा आज नेवारी समुदायले भने भीमसेनलाई बलिसहित पूजा गर्ने परम्परा छ ।

सिद्धिदात्रीको स्मरण, ध्यान, आराधनाले यस संसारको जोखिमलाई महसुस गराउँदछ र मानवलाई अमृत पदमा पु¥याउँछ भन्ने विश्वास छ । देवी सिद्धिदात्री कै कृपाबाट तीनै लोकमा यक्ष, मुनि, ऋषि, मानव, राक्षस, देव, दानव इत्यादि सबैले सिद्धि प्राप्त गर्न सक्ने बताइन्छ ।

आजको दिन काठमाण्डू उपत्यकाका गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, कालिकास्थान, शोभाभगवती, तलेजुभवानी र विजेश्वरीमा दर्शनार्थीको घुँइचो लाग्ने गर्छ । त्यसैगरी नक्साल भगवती, भद्रकाली र इन्द्रायणी लगायतका दुर्गादेवीका शक्तिपीठहरुमा दर्शनार्थीको भीड लाग्ने गर्छ । काठमाडौं उपत्यका बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथिभरा र गोरखाको मनकामना लगायतका शक्तिपीठहरुमा नवदुर्गा अवधिभर दर्शनार्थीको भीड लाग्ने गर्दछ ।

Facebook Comments