Wed. Dec 25th, 2024

युएईले हङकङलाई हरायो

काठमाण्डू, २०८० कात्तिक ५ गते आईतबार । त्रिकोणात्मक टी-२० अन्तर्राष्टिय प्रतियोगिताअन्तर्गत आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले हङकङलाई ६ विकेटले पराजित गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा भएको खेलमा हङकङले युएईलाई जीतका लागि दिएको एक सय ५० रनको चुनौती यूएईले १८ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्‍यो । युएईका लागि कप्तान मोहम्मद वासिमले १७ बलमा चार चौका र तीन छक्काको मद्दतमा ४० रन बनाउनु भयो भने खालिद शाहले ३७ रनको योगदान दिनुभयो ।

टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ४९ रन बनायो । हङकङका लागि बाबर हायातले ४५ बल खेल्दै तीन चौका र पाँच छक्काको मद्दतमा ६६ रन बनाउनु भयो । त्यस्तै एजाज खानले ४८ रन बनाउनु भयो । यी दुवै खेलाडीले चौथो विकेटका लागि एक सय १४ रनकोसाझेदारी गर्नुभएको थियो ।

युएईका जहुर खानले तीन विकेट लिनुभयो भने निलांश केश्वानीले दुई विकेट झार्नुभयो । सिरिजअन्तर्गत भोलि नेपाल र युएईबीच खेल हुनेछ ।

Facebook Comments