Mon. May 6th, 2024

बराहपोखरीबाट रु एक करोड ७५ लाखको खसी बिक्री   

फाईल फोटो

खोटाङ, २०८० कात्तिक ४ गते शनिबार । दशैंँ तिहारको अवसरमा खोटाङको बराहपोखरी गाउँपालिकाबाट रु एक करोड ७५ लाख बढीको खसी काठमाण्डू निर्यात भएको छ । खसीबाख्रापालनका लागि उपयुक्त भूगोल मानिने बराहपोखरीबाट ठेकेदारको पाँच समूहले आठ सय ७५ खसी काठमाण्डू पुर्याएका छन् ।

एउटा खसीको सरदर मूल्य रु २० हजार मान्दा रु एक करोड ७५ लाखभन्दा बढी रकम पालिका भित्रिएको बराहपोखरी गाउँपालिकाका पशु सेवा शाखा प्रमुख आशिष बञ्जराले जानकारी दिनुभएको छ । खसी खरिदका लागि ठेकेदारको समूह गाउँपालिकाका छवटै वडाका किसानको घर-घरमा पुगेका थिए ।

दशैंँतिहारका अवसरमा घरैमा खसी बिक्री हुँदा कतिपय एकैघरका किसानले रु पाँच-छ लाखसम्म हात पारेका छन् । कतिपय किसानले एउटै खसी ८० केजी तौलसम्मका बिक्री गरेका छन् । किसानबाट खरिद गरिएको खसीलाई ठेकेदारले धाप्लाङघाटस्थित सुनकोसी पार गराएपछि आठवटा ट्रक र दुईवटा बोलेरोमा हालेर अन्यत्र लगेका थिए । उनीहरुले खसीलाई धाप्लाङघाटसम्म हिँडाएर पुर्याएका थिए ।

कतिपय खसी यही कात्तिक १ गते बिहान र कतिपय खसी कात्तिक २ गते बिहान काठमाण्डू पुर्याएको पशु सेवा शाखा प्रमुख बञ्जराले जानकारी दिनुभएको छ । कतिपय किसानले आफँै उदयपुरको गाईघाटमा लगेर खसी बिक्री गरिरहेका छन् ।

दश स्थानीय तह रहेको जिल्लाबाट यस वर्षको दशैंँतिहारका अवसरमा करोडौँ मूल्य बराबरको खसी निर्यात भएको बाख्रापालन व्यवसायी सङ्घ खोटाङले जनाएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा पछिल्लो समय व्यावसायिकरूपमा बाख्रापालन गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । रासस

Facebook Comments