Tue. Apr 30th, 2024

अन्तर्राष्ट्रिय चुनौती बन्दै जलवायु परिवर्तन : प्रधानमन्त्री प्रचण्ड

-रामबहादुर थापा/गण्डकी, २०८० कात्तिक १ गते बुधबार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तन अन्तर्राष्ट्रिय चुनौती बनेको बताउनुभएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा बुधबार मुस्ताङको जोमसोममा आयोजित जलवायु संवाद कार्यक्रममा उहाँले दक्षिण एसियाको हिमालय पर्वत शृङ्खला वरिपरि देखा परिरहेको जलवायु परिर्वतको असर विशिष्ट र गम्भीर खालको रहेको उल्लेख गर्नुभयो ।

“जलवायु परिवर्तन हाम्रो राष्ट्रिय समस्या र चुनौती त हुँदै हो, सँगै यो अन्तर्राष्ट्रिय चुनौती पनि हो, विश्वकै समस्या हो”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “जलवायु परिर्वतनको जोखिम न्यूनीकरणमा अन्तर्राष्ट्रियजगत्ले पर्याप्त लगानी र पहल नलिने हो भने विश्वले गम्भीर मानवीय र प्राकृतिक विपद्को सामना गर्नुपर्ने स्थिति आउँछ ।”

प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसङ्घको हालै सम्पन्न महासभालगायत अन्तर्राष्ट्रिय मञ्चहरुमा जलवायु परिवर्तनले नेपालमा पुर्‍याएको क्षति र सम्भावित जोखिमबारे गम्भीरताका साथ विषय उठाइएको बताउनुभयो । “नेपालले झेलिरहेको जलवायु परिवर्तनको समस्याबारे विश्व समुदायको ध्यानाकर्षण भएको छ”, उहाँले भन्नुभयो, “आउँदो महिना हुने २८औँ विश्व जलवायु सम्मेलनमा पनि म आफैँ नेपालको प्रतिनिधित्व गरेर जाँदैछु, त्यहाँ पनि गम्भीरताका साथ यो विषय राख्नेछु ।”

प्रधानमन्त्री प्रचण्डले नेपालमा जलवायु परिवर्तनबाट पुगेको असर र जोखिमबारे बुझ्न छिट्टै संयुक्त राष्ट्रसङ्घका महासचिवको नेपाल भ्रमण हुन लागेको जानकारी पनि दिनुभयो । उहाँले पछिल्लो समय मुस्ताङलगायत हिमाली क्षेत्रमा जलवायु परिवर्तनबाट पुगेको क्षति र जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय सहयोग भित्र्याउन पहल गर्ने बताउनुभयो । उहाँले जलवायु परिवर्तनका क्षेत्रमा काम गर्ने विदेशी दातृ निकायबाट प्राप्त हुने रु ५० करोड मुस्ताङमा खर्च गरिने जानकारी पनि दिनुभयो ।

“गत साउन २८ गतेको बाढीबाट क्षतिग्रस्त बनेको कागबेनी क्षेत्रको पुनः निर्माणमा पनि विदेशी सहयोग जुटाउन सरकारका तर्फबाट आवश्यक पहल भइरहेको छ”, उहाँले भन्नुभयो, “जलवायु परिवर्तनबाट मुस्ताङको जनजीवन, कृषि, उत्पादन, पर्यटन र समग्र व्यवसायमा पुगेको क्षतिलाई कसरी रोक्न सकिन्छ भन्नेमा नेपाल सरकार गम्भीर ढङ्ग रुपमा लागेको छ ।”

प्रधानमन्त्री प्रचण्डले भौगोलिक विशिष्टता, प्राकृतिक सम्पदा, खनिज, धार्मिक, सांस्कृतिक आदि दृष्टिबाट मुस्ताङ विश्वकै परिचित स्थल रहेको धारणा राख्नुभयो । आज मुस्ताङ आउनुभएका उहाँले आजै बाढीबाट क्षति पुगेको कागबेनी, मुक्तिनाथ, उपल्लो मुस्ताङको लोमान्थाङलगायत क्षेत्रको हवाई अवलोकन गर्नुभएको थियो । रासस

Facebook Comments