Mon. May 6th, 2024

११ औँ भिडियो मिडिया फोरम सम्पन्न

भिओके समाचार/काठमाण्डू, २०८० असोज ३० गते मंगलबार । चिनियाँ राष्ट्रपति सी चिनफिङले अघि सार्नुभएको विश्वव्यापी अवधारणा ‘बेल्ट एण्ड रोड महापरियोजना’को १० वर्ष पूरा भएको छ ।

यही अवसर पारेर चीनको राजधानी पैचिङमा विश्वव्यापी भिडियो मिडिया फोरमको आयोजना गरिएको थियो । सो फोरम विश्वका चर्चित सञ्चारगृहका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सोही फोरम ‘बेल्ट एण्ड रोड’सँग सम्बन्धित छोटो वृत्तचित्र प्रतियोगितामा रे टेलिभिजनले बनाएको ‘पोखरा इन्टरनेसनल एयरर्पोट, लिंकिङ टुरिजम एण्ड कल्चर’ले आउट स्टान्डडिङ सिल्क रोड स्टोरीको उपाधि जित्न भएको छ ।

चीनको पैचिङमा विश्वव्यापी भिडियो मिडिया फोरमको ११ औँ संस्करण सम्पन्न भएको छ । यही अक्टोबर १४ तारिखमा सम्पन्न भएको सो फोरममा १ सय ४० जना विभिन्न देशका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सो फोरममा चिनियाँ कम्युनिष्ट पार्टीको प्रचार विभागका सहायक मन्त्री शन हाइसोङको उपस्थिति रहेको थियो । चीनका राष्ट्रपति सी चिनफिङले प्रस्ताव गर्नुभएको बेल्ट एण्ड रोड महापरियोजनाको १० औ वार्षिकोत्सवको अवसरमा भएको फोरमले साझा भविष्यका लागि अवधारणालाई जोड दिएको थियो ।

फोरममा ४९ वटा देशका ७५ वटा अन्तर्राष्ट्रिय सञ्चार माध्यमका प्रमुखहरुको सहभागिता रहेको थियो । सो फोरममा नेपालको रे टेलिभिजन एचडीका अध्यक्ष प्रकाशबावु पौडेलको पनि सहभागिता रहेको थियो । फोरममा नयाँ रेसम मार्गसँग सम्बन्धित वृत्तचित्र, टिभी कार्यक्रम, चलचित्र र छोटो भिडियो प्रर्दशन गरिएको थियो । सोही फोरममा बेल्ट एण्ड रोडसँग सम्बन्धित छोटो वृत्तचित्र प्रतियोगितामा रे टेलिभिजनले  बनाएको ‘पोखरा इन्टरनेसनल एयरर्पोट, लिंकिङ टुरिजम एण्ड कल्चर’ले आउट स्टान्डडिङ सिल्क रोड स्टोरीको उपाधि जित्न भएको थियो ।

फोरममा सहभागी भएर उपाधि जित्न सफल हुनु भएका रे टेलिभिजनका अध्यक्ष प्रकाशबाबु पौडेलले फोरम निकै लाभदायक र सिकाइमुलक भएको बताउँदै उपाधि जित्न सफल भएकोमा खुसी व्यक्त गर्नुभयो । फोरममा सहभागी प्रतिनिधिहरुले अझै विविध, समावेशी र स्वस्थ सञ्चार परिदृश्यको एकीकृत प्रयासको आह्वान गरेका थिए । फोरममा बेल्ट एण्ड रोड सञ्चार संस्थाहरुबाट सयुंक्त कार्य घोषणा भएको छ । जसलाई फोरमको मुख्य उपलब्धिको रुपमा लिइएको छ ।

फोरममा विश्वव्यापी सहकार्य कार्यक्रम र मध्यपूर्व सञ्चार गठबन्धनको सुरुवात पनि भएको छ । यो फोरमले बेल्ट एण्ड रोड महापरियोजनाले भविष्यमा समाचार, रिर्पोटिङ, प्राविधिक नवीनता, भिडियो उत्पादन र अन्य क्षेत्रमा सञ्चारको आदानप्रदान र विकासलाई प्रर्द्धन गर्ने सहभागीहरुले विश्वास गरेको बताएका छन् । फोरममा रे टेलिभिजनका अध्यक्ष प्रकाशबाबु पौडेल, अफ्रिकन युनियन अफ ब्रोडकास्टिङका प्रमुख कार्यकारी अधिकृत ग्रेगोइरे न्डजाका, एसिया प्यासिफिक युनियनका महासचिव एहमद नदिम, इमरेस्ट न्युज एजेन्सीका महानिर्देशक मोहमद जलाल अलरेस्सी, नेसनल बोर्डकास्टिङ कोपरेसन अफ पपुवा न्युगीका प्रबन्ध निर्देशक कोरो नोउ, युरोपियन न्युज एक्सचेन्जका प्रबन्ध निर्देशक एड्रियन वेल्स र ल्यान्ह चाओ पाओका कार्यकारी सम्पादक हान योङ को सहभागिता रहेको थियो । यसैगरी एसोसियट प्रेस, रोयटर्स, द ल्याटिन अमेरिकन प्रेस, युनियन, द अरब स्टेट बोर्डकास्टिङ युनियन, द पिपुल्स वर्ड उज्वेकिस्तान, एनटिभी रसियाका प्रतिनिधिले भिडियो मार्फत फोरममा सहभागिता जनाएको थियो ।

सोही अवसरमा रे टेलिभिजनका अध्यक्ष प्रकाशबाबु पौडेलले सिसिटिभी प्लसका प्रबन्ध निर्देशक तथा सम्पादक गा वाइन र कार्यकारी उपमहाप्रबन्धक लि सिओसँग द्वीपक्षीय भेटवार्ता गर्नुभएको थियो । भेटका क्रममा अध्यक्ष पौडेल र सिसिटिभीका प्रतिनिधिबीच भविष्यमा दुई सञ्चार गृहबीचको आदानप्रदान र साझेदारीका विविध विषयमा छलफल भएको थियो ।

Facebook Comments