Tue. Apr 30th, 2024

लेबनानमा नयाँ युद्ध मोर्चा ‘कसैको हितमा छैन’ : प्रधानमन्त्री  

 बेरूत, २०८० असोज २९ गते सोमबार । लेबनानका प्रधानमन्त्री नजिब मिकातीले सोमबार दक्षिणी लेबनानमा युद्धमोर्चा खोल्नु कसैको हितमा नभएको बताउँदै लेबनानको स्थायित्व सुनिश्चित गर्न आफू विभिन्न स्थानीय दल र अन्तर्राष्ट्रिय नेताहरूसँग सम्पर्कमा रहेको बताउनुभएको छ ।

“दक्षिणी लेबनानबाट मोर्चा खोल्नु कसैको चासोको विषय होइन किनभने लेबनानीहरूले नयाँ युद्धको परिणाम सहन सक्दैनन्,” प्रधानमन्त्री मिकातीलाई उद्धृत गर्दै लेबनानी मन्त्रिपरिषद्ले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

मिकातीले आफ्नो मन्त्रीपरिषद्ले शान्तिका लागि काम गरिरहेको र युद्धमा जाने निर्णय इजरायलको हातमा रहेको भन्दै अन्तर्राष्ट्रिय समुदायसँग इजरायललाई उसको उक्साहट रोक्न दबाब दिन आह्वान गर्नुभयो ।

उहाँले लेबनानका राजनीतिक दलहरूलाई गणतन्त्रका लागि नयाँ राष्ट्रपति चयन गर्न र नयाँ मन्त्रिमण्डल गठन गर्न एकजुट हुन आह्वान गर्नुभयो । यसले देशको विभिन्न सङ्कटहरू समाधान गर्न र गाजामा युद्धको परिणामहरूको सामना गर्न सक्षम बनाउन सकोस् ।

हिजबुल्लाहले अक्टोबर ७ मा हमासले सुरु गरेको ‘अपरेसन अल-अक्सा फ्लड’को समर्थनमा शेबा फार्ममा रहेको सैन्य स्थलतर्फ अक्टोबर ८ मा दशौँ रकेट प्रहार गरेपछि लेबनान-इजरायल सीमामा स्थिति तनावपूर्ण बनेको थियो ।

लेबनान र इजरायलबीच विगत एक हप्तादेखि गोली हानाहान जारी छ र स्थानीय अधिकारीहरूले लेबनानलाई युद्धबाट जोगाउन सीमामा स्थिरताको लागि आह्वान गरेका छन् । सिन्ह्वा

Facebook Comments