Sat. May 4th, 2024

बाइडेनको कोलोराडो भ्रमण रद्द, इजरायल भ्रमणको सम्भावना बढ्यो   

वासिङ्टन, २०८० असोज २९ गते सोमबार । अमेरिकी राष्ट्रपति जो बाइडनले सोमबार कोलोराडो भ्रमणको योजना अचानक रद्द गरेको ह्वाइट हाउसले जानकारी गराएको छ ।

राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले बाइडेनलाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इजरायल भ्रमणको निम्तो दिएको बताउनुभएको छ ।

कोलोराडोमा ‘विन्ड टर्बाइन म्यानुफ्याक्चरर प्लान्ट’को अवलोकन गर्न गएका ८० वर्षीय बाइडेनले आर्थिक पुनरुत्थान र पर्यावरणसमर्थक सन्देशलाई आफ्नो २०२४ को पुनः निर्वाचन अभियानको केन्द्रमा राख्नुभएको छ ।

ह्वाइट हाउसका अनुसार अन्तिम समयमा रद्द गरिएको भ्रमण पुनः निर्धारित हुनेछ । ह्वाइट हाउसले जारी गरेको एक संक्षिप्त वक्तव्यमा बाइडेन राष्ट्रिय सुरक्षा बैठकमा भाग लिन वासिङ्टनमै रहने उल्लेख गरिएको छ ।

किर्बीले बाइडेन इजरायल र हमासबीच के भइरहेको छ भन्नेमा केन्द्रित रहने बताउनुभएको छ ।

एक्जिओस र सीएनएनलगायतका विभिन्न सञ्चारमाध्यमले अमेरिकी र इजरायली अधिकारीहरूले बाइडेनको सम्भावित इजरायल भ्रमणबारे छलफल गरिरहेको जनाएका छन् ।

अक्टोबर ६ मा गाजाबाट हमासले गरेको आक्रमणको बदलामा सयौं इजरायली नागरिकको ज्यान जाने गरी भएको आक्रमणको बदलामा बाइडेनले अमेरिकाको नजिकको सहयोगी इजरायललाई बलियो समर्थन गर्ने प्रतिबद्धता व्यक्त गर्दै आउनुभएको छ ।
बाइडेनले फेब्रुअरीमा उच्च जोखिमयुक्त अर्को युद्धक्षेत्र युक्रेनको भ्रमण गर्नुभएको थियो । उहाँले अन्तिम पटक सन् २०२२ को जुलाईमा इजरायलको भ्रमण गर्नुभएको थियो । एएफपी

Facebook Comments