Fri. May 3rd, 2024

वैदेशिक रोजगारीपछि पशुपालन, मासिक रु दुई लाख आम्दानी गर्दै नोमबहादुर

घोराही (दाङ), २०८० असोज २९ गते सोमबार । घोराही उपमहानगरपालिका-५ धर्नाका नोमबहादुर केसी दैनिक दुई सय लिटर दूध बेच्नुहुन्छ । बिहानै मोटरसाइकलमा घोराही बजारका विभिन्न ठाउँमा पुगेर दूध बिक्री गर्नु उहाँको दैनिकी बनेको छ ।
रोजगारीका सिलसिलामा मलेसिया र भारतमा केही समय बिताउनुभएका ४५ वर्षे केसीले वि.सं. २०७१ सालदेखि वैदेशिक रोजगारी छाडेर पशुपालनमा लाग्नुभएको हो । “मलेसियामा तीन वर्ष काम गरे, त्यहाँबाट फर्केपछि कामको खोजीमा भारत पुगे । तर त्यहाँ पनि भने जस्तो काम पाउन सकिन, त्यसपछि घरमै पशुपालन गर्ने योजना बनाएँ”, उहाँले भन्नुभयो । उहाँका अनुसार पशुपालनबाट हाल मासिक रु दुई लाख आम्दानी भइरहेको छ ।

उहाँ आफ्नो फार्ममा उत्पादित ३० लिटर र बाँकी गाउँमा उत्पादन भएको दूध सङ्कलन गरी बिक्री गर्नुहुन्छ । विदेशमा जस्तै मेहनत गर्ने हो भने नेपालमा आम्दानी गर्न गाह्रो नहुने उहाँको बुझाइ छ । “विदेशमा १८ घण्टा काम गर्छौँ र कमाइ भएको देख्छौँ, तर स्वदेशमा काम आठ घण्टा पनि गर्दैनौँ तर कमाइ धेरै खोज्छौँ, अनि जति कमाए पनि कमै देख्छौँ”, केसीले भन्नुभयो । उहाँले हाल चारजना स्थानीयलाई रोजगारी पनि दिनुभएको छ ।

राससका अनुसार उहाँ मालती बहुउद्देश्यीय पशु तथा कृषि फार्म स्थापना गरी पशुपालन गरिरहनुभएको छ । उहाँको फार्ममा १८ वटा भैँसी र तिनका पाडापाडी छन् । केही दूध डेरी पसल र होटलमा दिनुहुन्छ भने बाँकी घरघर लगेर बिक्री गर्नुहुन्छ ।

“हरेक दिन बिहान ३ बजे उठेर भैँसीको स्याहारसुसार गरेर अँध्यारै घरबाट निस्कन्छु, र बिहान साढे नौ बजेसम्म दूध बेचिसक्छु”, उहाँले भन्नुभयो, “घरबाट निस्कनु अघि भैँसी र तिनका पाडापाडीको स्याहारसुसार गर्ने, दुहुने र उनीहरुका लागि आहारा तयार पारिसक्छु ।” केसीले पशुका लागि घाँस पनि आफै लगाउनुभएको छ भने पराल र भुस पनि आफ्नै जग्गामा उत्पादन गर्नुहुन्छ ।

Facebook Comments