Sat. May 18th, 2024

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीद्वारा पद तथा गोपनियताको शपथ

विराटनगर, २०८० असोज २८ गते आईतबार । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनियताको शपथ लिनुभएको छ भने दुई जना मन्त्री समेत नियुक्त गर्नुभएको छ ।

प्रदेश प्रमुख परशुराम खापुङसँग आज पद तथा गोपनीयताको शपथ लिनुअघि कार्कीले दुई जना मन्त्री नियुक्त गर्नुभएको हो । कांग्रेसका सांसद शम्शेर राई र एमालेका संसदीय दलका उपनेता रामबहादुर मगरलाई मन्त्री नियुक्त गरिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । दुवै जना मन्त्री इलामका हुनुहुन्छ । मुख्यमन्त्री कार्कीसहित दुवै जना मन्त्रीले प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ पनि लिनुभएको छ ।

कांग्रेसबाट विद्रोह गरेका ८ जना र एमालेका ३९ जना सहित ४७ जना प्रदेश सांसदको सनाखत गराएर प्रदेश प्रमुख खापुङले केदार कार्कीलाई हिजो शनिवार बिहान मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । मुख्यमन्त्रीमा नियुक्त भएपछि उहाँलाई गठबन्धन दलहरूले पनि समर्थन गर्ने बताएका छन् । कोशी प्रदेशमा १ वर्षको अवधिमा ५ औँ पटक मुख्यमन्त्री नियुक्त गरिएको हो ।

संविधानको धारा १ सय ६८ को उपधारा ३ अन्तर्गत मुख्यमन्त्री हुनुभएका हिक्मत कार्कीले असोज २० गते मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख खापुङले संविधानको धारा १ सय ६८ को उपधारा ५ अन्तर्गत सरकार गठनको आह्वान गर्नुभएको थियो । जसअनुसार कार्कीले कांग्रेसमा विद्रोह गरेर एमालेको सहयोगमा मुख्यमन्त्रीको दाबी पेस गर्नुभएको थियो । कार्की कोशी प्रदेशको आठौँ मुख्यमन्त्री बन्नुभएको छ ।

Facebook Comments