Mon. Dec 23rd, 2024

मध्यपश्चिम विश्वविद्यालयको बेरुजु एक अर्ब

कर्णाली, २०८० असोज २७ गते शनिबार । एक दशकको अवधिमा मध्यपश्चिम विश्वविद्यालयको बेरुजु रु. एक अर्ब १२ करोड ५८ लाख ७७ हजार पुगेको छ । विश्वविद्यालय प्रशासनले सुर्खेतको वीरेन्द्रनगरस्थित शुक्रबार केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन कार्यक्रममार्फत बेरुजु अवस्था सार्वजनिक गरेको हो ।

विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. नारायणप्रसाद पौडेलले स्थापना कालमा उपकुलपति प्रा डा पदमलाल देवकोटा र रजिष्ट्रार सह-प्रा. डा. ठगेन्द्रप्रसाद गिरी हुँदाका बखत आव २०६८/६९ मा रु ८३ लाख ९८ हजार तथा आव २०७८/७९ सम्ममा रु एक अर्ब १२ करोड ५७ लाख पुगेको बताउनुभयो ।

“यसमा असुलउपर र सैद्धान्तिक एवं प्रक्रियागत बेरुजु परेको छ”, रजिष्ट्रार पौडेलले भन्नुभयो । वीरबहादुर पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो । उहाँले असुलउपर गर्ने बेरुजुमा रु ६३ लाख ६६ हजार ९६४ मा केही प्रतिशत मात्र असुल भएको बताउनुभयो । रजिष्ट्रार पौडेलका अनुसार रु. १२ करोड ४० लाख ५१ हजार बेरुजु सम्परीक्षण गरिएको छ । अझै करिब रु एक अर्ब बेरुजु विश्वविद्यालयले फछ्र्योट गर्न बाँकी छ ।

आर्थिक वर्ष २०७५/७६ मा उपकुलपति प्रा. डा. उपेन्द्रकुमार कोइराला र रजिष्ट्रार डा महेन्द्रकुमार मल्लको पदावधिमा सबैभन्दा बढी रु ४० करोड ५९ लाख ६० हजार (३६.०४) प्रतिशत बेरुजु आएको उहाँले बताउनुभयो । यहाँ असुलउपर गर्नुपर्ने बेरुजु पनि रहेको उहाँको भनाइ थियो । विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले करिब १३ वर्षको बेरुजुलाई सबै आफ्नो पालामा गरेकोजस्तो गरेर सामाजिक सञ्जाल तथा समाचार माध्यमबाट आएपछि त्यसको भ्रम हटाउन पत्रकार सम्मेलन कार्यक्रम गरिएको बताउनुभयो । रासस

Facebook Comments