Fri. Dec 27th, 2024

भारतीय प्रधानमन्त्री मोदीको कालापानी भ्रमण आपत्तिजनक

रमेश हतुवाली/काठमाण्डू, २०८० असोज २६ गते शुक्रबार । नेपाल सरकारलाई पूर्वजानकारी नदिई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूभाग कालापानीको भ्रमण गर्नु आपत्तिजनक रहेको विज्ञहरुले बताएका छन् ।

वामबुद्धिजीवि तथा चीनका लागि पूर्व नेपाली राजदूत टंक कार्कीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको कालापानी क्षेत्रको भ्रमण भारतको बलमिच्याइँ भएको प्रतिक्रिया दिनुभएको छ । कालापानी नेपाली भूभाग हो भन्ने जानकारी मोदीलाई नभएर उहाँले सो क्षेत्रको भ्रमण गरेको नभई कालापानीको रणनीतिक महत्व देखेर नै सो भ्रमण गरिएको कार्कीको धारणा छ । नेपालको स्वतन्त्रता र सार्वभौमिकता जोडिएको यस्तो सम्वेदनशिल विषयमा सरकार नबोल्नु गम्भिर विषय भएको पनि पूर्वराजदूत कार्कीले बताउनु भयो ।

पूर्वप्राध्यापक तथा चीन अध्ययन केन्द्रका महासचिव डाक्टर उपेन्द्र गौतमले भारतीय प्रधानमन्त्री मोदीको नेपाली भूभाग कालापानीको भ्रमण तीर्थयात्रीको रुपमा नभएर सो भूभागलाई आफ्नै भूभाग देखेर भ्रमण गरिएको बताउनु भयो । डाक्टर गौतमले यस्ता विषयहरुलाई नेपाल सरकारले गम्भिरतापूर्वक उठाउनु पर्ने आवश्यकतामा जोडदिनुभयो ।

यसैगरी राष्ट्रिय जनमोर्चाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल सरकारलाई पूर्वजानकारी नदिई नेपालको कालापानी क्षेत्रमा भ्रमण गरेको भन्दै आपत्ति जनाएको छ । आज विज्ञप्ति निकालेर जनमोर्चाले नेपालको कालापानी क्षेत्रमा पर्ने गुञ्जी गाउँमा नेपाललाई पूर्व जानकारी नगराइ वा अनुमति नलिइ भएको मोदीको भ्रमणको विरोध गरेको हो । कालापानी क्षेत्रमा पर्ने गुञ्जीलगायतका गाउँ दार्चुला जिल्लाको व्यास गाउँपालिकाको वडा नं. १ मा पर्ने उल्लेख गर्दै विज्ञप्तिमा, कुटी, गुञ्जी, नाभी, न्युराङ, छोटाकैलाशसहितको कालापानी क्षेत्र नेपालको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताभित्र पर्ने भूभाग हुन् भनिएको छ ।

नेपाललाई कुनै जानकारी नै नगराई भारतीय प्रधानमन्त्री यी क्षेत्रमा भ्रमण गर्ने कुरा अन्तर्राष्ट्रिय कुटनीतिक मर्यादा र शिष्टाचारको उल्लङ्घन भएको ठहर विज्ञप्तिमा गरिएको छ । त्यसका साथै मोदीको भ्रमण भारतीय साम्राज्यवादको नेपालप्रतिको हेपाहा तथा विस्तारवादी नीति भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । भारतीय साम्राज्यवादले कालापानी क्षेत्रलाई कब्जा गरेर भारतीय सङ्घमा मिलाउनका लागि लामो समयदेखि विभिन्न षड्यन्त्र गर्दै आएको पनि जनमोर्चाको आरोप छ । मोदीको अहिलेको भ्रमण त्यसैको एउटा कडी हो भनि विज्ञप्तिमा उल्लेख गरिएको छ । भारतीय प्रधानमन्त्रीको भ्रमणबाट कालापानी क्षेत्रको अतिक्रमित भूभाग भारतले सहज रुपमा छोड्ने र आफ्ना सेना फिर्ता लैजाने पक्षमा नभएको नै देखाउँछ, त्यसैले कालापानीको विवादलाई अन्तर्राष्ट्रियकरण गरिनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

हिजो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कालापानी क्षेत्रको भ्रमण गर्नु भएको थियो । भ्रमणका क्रममा मोदीले कालापानीस्थित पार्वती कुण्डमा केही समय ध्यानसमेत गर्नुभएको फोटो सार्वजनिक भएको थियो । मोदीको यो भ्रमणबारे पूर्व जानकारी नभएको सरकारले जनाएको थियो ।

Facebook Comments