Sun. May 19th, 2024

मुस्ताङमा स्याउको उत्पादन घट्यो

मुस्ताङ, २०८० असोज २५ गते बिहीबार । मुस्ताङबाट निकासी हुुने प्रमुख कृषि उपज स्याउको उत्पादन यसपाली घटेको छ ।

प्रतिकुल मौसमका कारण दाना कम लागेको हुनाले स्याउको उत्पादन घटेको हो । यसपाली स्याउको उत्पादन ४० प्रतिशतले घट्न सक्ने अनुुमान गरिएको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ । फूल खेलेर परागसेचन हुुने समयमा धेरै बर्षा हुँदा फूलबाट स्याउको दाना कम लागेको हो ।  वैशाख–जेठ महिनामा वर्षाले स्याउको बोटमा परागसेचन हुन नपाएकोले स्याउको उत्पादन कम भएको कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख प्रकाश बास्ताकोटी बताउनुहुन्छ ।

मुस्ताङमा १ हजार ४ सय ७५ हेक्टर क्षेत्रफलमा स्याउको खेती भएकोमा ५ सय ८० हेक्टर क्षेत्रफलमा लगाइएको स्याउको बोटले उत्पादन दिने गरेको छ । ३८ हेक्टर क्षेत्रफल जमिनमा इटलीबाट ल्याइएको उच्च घनत्वको स्याउ खेती भएको छ । गत वर्ष मुस्ताङमा ६  हजार ६०० मेट्रिक टन स्याउ उत्पादन भएको थियो । रु. ५० करोड मूल्य बराबरको ४ हजार ६ सय २० मेट्रिक्टन स्याउ म्याग्दी, बागलुुङ, पोखरा, चितवन, बुटवल, काठमाडौ लगायतका सहरमा निकासी भएको स्थानीय कृषक राजेन्द्र थकाली बताउनुहुन्छ ।

राससका अनुसार यसपटक प्रतिकिलो रु. १०० देखि १२० का दरले स्याउ बिक्री भएको छ । मुुस्ताङमा  हाल रेडडेलिसियस, रोयल डेलिसियस, रिचारेड डेलिसियस र गोल्डेन डेलिसियस जातका स्याउ खेती भएको छ । मुस्ताङमा असोज १ गतेदेखि स्याउ टिप्न शुरु भएको स्थानीय स्याउ ब्यापारी शिवाङ तामाङ बताउनुहुन्छ ।

देशका विभिन्न भागमा मुुस्ताङको स्याउ किन्ने मानिसहरुको संख्या बढिरहे पनि यातायातको असुविधाको कारण मुस्ताङका रसिला स्याउ खाने सबैको रहर पुरा हुन अझै केहि वर्ष कुर्नुपर्ने देखिएको छ ।

Facebook Comments