Sun. May 19th, 2024

शेयर बजार समान्य वृद्धि

भिओके समाचार/काठमाण्डू, २०८० असोज २४ गते बुधबार । पछिल्ला ४ कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको शेयर बजार आज  सामान्य अंक बढेर बन्द भएको छ । शेयर बजार मापक नेप्से आज ५.१६ अंक बढेर १८९४.७६ विन्दुमा पुगेको छ । नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ ।

हिजो १ अर्ब २८ करोडको शेयर खरिदबिक्री भएकोमा आज १ अर्ब ८ करोड ८५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज तीनवटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सिटी होटल, माण्डु हाइड्रोपावर र हाथवे इन्भेष्टमेन्टको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । माण्डु हाइड्रोपावर र हाथवे इन्भेष्टमेन्ट आजैदेखि कारोबारमा आएको हो । त्यसैगरी, समता घरेलु लघुवित्त वित्तीय संस्था र सयपत्री हाइड्रोपावरको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

कारोबार रकमका आधारमा आज माण्डु हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४ करोड ८० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, एनआईसी एशियाको साढे ३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने नबिल बैंक र हाथवे इन्भेष्टमेन्टको ३ करोडभन्दा बढीको शेयर किनबेच भएको छ । १३ उपसमूहमध्ये आज १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । आज होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.८० प्रतिशत बढेको छ । त्यस्तै, म्युचुअल फण्ड उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

Facebook Comments