Mon. Dec 23rd, 2024

इलामका १० जना नेपाली सिक्किममा बेपत्ता

मङ्गलबारे (इलाम), २०८० असोज २३ गते मंगलबार । । इलामबाट गएका १० जना नेपाली भारतमा बेपत्ता भएका बताइएकाे छ । इलाम नगरपालिका-९ का नेपालीहरु गत असोज १६ देखि सिक्किममा बेपत्ता भएका प्रारम्भिक जानकारी आएको हो । काम गर्न गएका उनीहरु असोज १७ गते टिस्टा नदीमा आएको बाढीपछि बेपत्ता भएको हुन सक्ने स्थानीयको भनाइ छ ।

स्थानीय विक्रमबाबु फियाकका अनुसार टिष्टामा आएको बाढीपछि उनीहरु आफन्तसँग सम्पर्कविहीन भएका हुन् । सरकारबाट तदारुकताका साथ खोजी गरिदिन परिवारको आग्रह छ । बेपत्ता हुनेहरुमा इलाम नगरपालिका-९ का सानु भनिने सेनबहादुर कार्की, लाक्पा शेर्पा, नरमाया बस्नेत, खुशी बस्नेत, कुमार बस्नेतलथायतका रहेको इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो ।

कार्की र शेर्पा बेपत्ता भएको विषयमा आफूलाई यसअघि नै जानकारीमा आएको भए पनि बस्नेतलगायत अन्यको विषयमा थाहा नभएको उहाँको भनाइ छ । दुई जनाको विषयमा बेपत्ता भएको जानकारीमा आएको र अन्यको विषयमा पछिल्लो समयमात्र जानकारी प्राप्त भएको उहाँले बताउनुभयो । सिक्किमका मिडियामा खबर गरिसकेको प्रजिअ पोखरेलले बताउनुभयो । बाढीका कारण त्यस स्थानमा पुग्न नसक्ने, टेलिफोन, विद्युत् सबै अवरुद्ध भएको कारण कसैसँग सम्पर्क स्थापित हुन नसकेको बताइएको छ ।

नेपालका तर्फबाट प्रमुख जिल्ला अधिकारीले त्यहाँका सुरक्षाकमीसँग कुराकानी भइरहेको जानकारी दिनुभयो । उद्धारमा भारतीय पक्षसमेत लागेको जानकारी आएको उहाँले बताउनुभयो । रासस

Facebook Comments