Thu. Dec 26th, 2024

आर्थिक सङ्कट समाधान गर्न सरकारलाई अध्यक्ष नेपालको आग्रह

कावासोती (नवलपरासी), २०८० असोज २० गते शनिबार । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको आर्थिक क्षेत्रका सङ्कट, जनजीविका महँगीलगायत समस्या समाधान गर्न सरकार आग्रह गर्नुभएको छ ।

समाजवाद जागरण अभियानद्वारा आज कावासोतीमा आयोजित कोणसभामा उहाँले मुलुकको अर्थतन्त्रमा देखा परेको सङ्कट समाधान गर्नका निम्ति आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्रसमेत बुझाएको स्मरण गराउनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले आफूहरु क्रान्तिकारी एजेन्डा लिएर जनताको बीचमा आएको बताउँदै रोजगारी, सुशासन र सम्मृद्धिलाई मुख्य मुद्दा बनाएर समाजवादी जागरण अभियानमा जुटेको बताउनुभयो । उहाँले औद्योगिक विकास र मिटर ब्याज पीडितको पक्षमा पार्टी दृढतापूर्वक क्रियाशीलता रहेको दाबी गर्नुभयो ।

यही असोज १४ मा काँकडभिट्टाबाट सुरु भएको अभियानअन्तर्गत विर्तामोड, दमक, उर्लाबारी, विराटचोक, इटहरी, इनरुवा, भारदह, राजविराज, चिन्नमस्त, अर्नाह, भगवानपुर, सिरहा सदरमुकाम, बन्दीपुर र जदुकुहा, जनकपुर, जलेश्वर, ढल्केबर, लालबन्दी, गरुडा, हर्नैया, कलैया र वीरगञ्ज, पथलैया, हेटौँडा, मनहरी, भण्डारा र भरतपुरमा जागरण अभियान सम्पन्न गरिएको छ ।

पार्टीले सुरू गरेको समाजवादी जागरण अभियानमा अहिलेसम्म चार हजार नेता कार्यकर्ता पार्टीमा समाहित भएका छन् । पार्टीले यही असोज १४ गते मेचीदेखि सञ्चालन गरिएको अभियानका क्रममा कोशी र मधेस प्रदेशका विभिन्न जिल्लामा एमाले, कांग्रेस, माओवादीलगायत पार्टीका चार हजार नेता कार्यकर्ता सो पार्टीमा समाहित भएको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । कावासोतीपछि आज बर्दघाट र परासीमा पनि आमसभा गरिने छ ।

Facebook Comments