Mon. May 20th, 2024

भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माणका लागि ५० हजार उपलब्ध गराउने प्रधानमन्त्रीको प्रतिबद्धता   

- बझाङ भूकम्प, २०८० असोज १६

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’,उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का भूकम्पले बझाङमा पु-याएको क्षतिबारे आज स्थानीयवासीसँग जानकारी लिँदै । तस्बिरः प्रदीपराज वन्त, रासस

चैनपुर (बझाङ), २०८० असोज १९ गते शुक्रबार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माणका लागि प्रतिपरिवार रु ५० हजार उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्पले क्षति पु-याएको बझाङको सदरमुकाम चैनपुरका बस्तीको शुक्रबार अवलोकन गर्दै । तस्बिर : भूमिराज पिठातोली, रासस

मङ्गलबारको भूकम्पबाट प्रभावित क्षेत्रको अवलोकनका लागि आज बझाङको सदरमुकाम चैनपुर पुग्नुभएका उहाँले पीडित परिवारको आवश्यकतालाई पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले सदस्य सङ्ख्याका आधारमा प्रभावित परिवारलाई रु १५ देखि २० हजार उपलब्ध गराउने जानकारी दिनुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “राहतमा पाल, कम्मल, औषधिलगायत तत्काल अत्यावश्यक सामग्री उपलब्ध गराउन सरकार क्रियाशील छ ।”

बझाङको चैनपुरस्थित जिल्ला प्रशासन कार्यालयमा शुक्रबार गरिएको अन्तरक्रियामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वय उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायत । तस्बिरः प्रदीपराज वन्त, रासस

भूकम्प पीडितलाई तत्काल राहत तथा अस्थायी टहरा निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, “सङ्घीय, प्रदेश र स्थानीय सरकार सबै प्रभावित जनताको साथमा छ, सरकार जनतासँगै छ ।”

प्रधानमन्त्री दाहालले भूकम्पबाट भएको क्षतिको तथ्याङ्क सङ्कलन गरी क्षति पुगेका संरचनाको प्रबलीकरण वा पुनःनिर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

बझाङको चैनपुरस्थित जिल्ला प्रशासन कार्यालयमा शुक्रबार गरिएको अन्तरक्रियामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वय उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायत । तस्बिरः प्रदीपराज वन्त, रासस

भूकम्पमा परी घाइते भएकाको निःशुल्क उपचार भइरहेको जानकारी दिँदै उहाँले भूकम्पपछि आएको पहिरोमा परी ज्यान गुमाएकी जयपृथ्वी नगरपालिका-११ स्थित ओखलकी ४० वर्षीया गुनमति धाँमीका परिवारलाई तत्काल दुई लाख राहत दिने बताउनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बझाङ केन्द्रविन्दु भएर यही असोज १६ गते गएको भूकम्पले चैनपुरमा क्षति पु¥याएका संरचनाहरु अवलोकन गर्दै । तस्बिरः प्रदीपराज वन्त, रासस

स्थानीय, प्रदेश र सङ्घीय सरकारबाट क्षति मूल्याङ्कनका आधारमा कार्यविधि बनाई भूकम्प प्रतिरोधी घर निर्माण गर्न सहयोग गर्ने उहाँले बताउनुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “यसअघि गोरखा, सिन्धुपाल्चोकलगायत जिल्लामा गरिएको पुनःनिर्माण जस्तै स्थानीय सामग्री प्रयोग गरी काम अघि बढाइनेछ । सरकारी, विद्यालय तथा स्वास्थ्य संस्थाको पुननिर्माण गरिनेछ । सबै संरचना भूकम्प प्रतिरोधी हुनेछन् ।” सो क्रममा उहाँले विश्व खाद्य कार्यक्रमले सहयोग गरेको पोषणयुक्त बिस्कुट जिल्ला विपद् व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभयो । रासस

Facebook Comments