Fri. Nov 22nd, 2024

एसियाली खेलकुद : चीन १६१ स्वर्णसहित शीर्षस्थानमा, कबड्डीमा नेपालको पदकको टुङ्गो केहीबेरमा

१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत मङ्गलबारसम्म पाँच सय ८२ पदकको छिनोफानो भएको छ । मङ्गलबारसम्मको खेल प्रदर्शनका आधारमा चीन एक सय ६१ स्वर्ण, ९० रजत र ४६ कास्यसहित दुई सय ९७ पदक प्राप्त गर्दै शीर्षस्थानमा रहेको छ ।

यस्तै जापान ३३ स्वर्ण, ४७ रजत र ५० कास्यका साथ एक सय ३० पदक प्राप्त गर्दै दोस्रो स्थानमा छ । दक्षिण कोरिया ३२ स्वर्ण, ४२ रजत, ६५ कास्यसहित एक सय ३९ पदकका साथ पदक तालिकाको तेस्रो स्थानमा रहेको छ । भारत १५ स्वर्ण, २६ रजत र २८ कास्यसहित ६९ पदकका साथ चौथो स्थानमा छ । उज्वेकिस्तान १४ स्वर्ण, १५ रजत र २१ कास्यसहित ५० पदकका साथ पाँचौँ स्थानमा छ ।

यसैगरी चाइनिज ताइपेई १२ स्वर्ण, १० रजत र १८ कास्यसहित ४० पदक प्राप्त गर्दै छैटौँ, थाइल्याण्ड १० स्वर्ण, ११ रजत र १९ कास्यसहित ४० पदकका साथ सातौँ, दक्षिण कोरिया सात स्वर्ण, १० रजत र ६ कास्यसहित २३ पदकका साथ आठौँ, बहराइन सात स्वर्ण, एक रजत र चार कास्यसहित १२ पदकका साथ नवौँ तथा हङ्कङ चाइना ६ स्वर्ण, १५ रजत र २४ कास्यसहित कुल ४५ पदक प्राप्त गर्दै पदक तालिकाको १०औँ स्थानमा रहेका छन् ।

एसियाली खेलकुदमा कुल सहभागी ४५ मुलुकमध्ये हालसम्म ३६ मुलुकले पदक प्राप्त गरेका छन् । नेपाल भने हालसम्म पदकविहीन अवस्थामा छ ।

महिला कबड्डीमा नेपालको पदकको टुङ्गो केहीबेरमा    

१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत नेपालको पदकको टुङ्गो केहीबेरमा लाग्ने भएको छ । महिला कबड्डीतर्फ आज हुने इरान र बङ्गलादेशबीचको खेलबाट नेपालको पदकको टुङ्गो लाग्ने छ । उक्त खेल इरानले जितेमा नेपालले कास्य पदक पाउने सुनिश्चित हुने छ । सो खेल बङ्गलादेशले जितेमा भने नेपाल महिला कबड्डीमा पनि पदकविहीन बन्न सक्छ ।

नेपाल समूह ‘बी’ मा रहेको छ । उक्त समूहमा इरान र बङ्गलादेश समेत छन् । हालसम्म नेपाल र इरानले एक एक खेल जितेका छन् । नेपालले पहिलो खेलमा बङ्गलादेशलाई पराजित गरेको थियो भने दोस्रो खेलमा नेपाल इरानसित पराजित भएको थियो ।

महिला कबड्डीमा इरान बलियो टोली मानिन्छ । इरानले यसअघि सम्पन्न १८औँ एसियाली खेलकुदमा महिला कबड्डीको स्वर्ण पदक जितेको थियो । रासस

Facebook Comments