Fri. May 3rd, 2024

उन्नाइसौँ एशियाली खेलकुद : महिला कबड्डीमा नेपाललाई पदकको सम्भावना

काठमाण्डू, २०८० असोज १६ गते मंगलबार । उन्नाइसौँ एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा नेपालले पदक प्राप्त गर्ने सम्भावना देखिएको छ । चीनको हाङ्झाउमा आज भएको खेलमा नेपालले बङ्लादेशलाई पराजित गरेसँगै पदक प्राप्त गर्ने सम्भावना बनेको हो ।

आजको खेलमा नेपालले बङ्लादेशलाई ३७-२४ अङ्कले पराजित गरेको हो । पहिलो हाफमा नेपालले २१-१६ अङ्कको अग्रता लिएको थियो । दोस्रो हाफमा नेपालले १६-८ अङ्कको अग्रता लिएपछि जित पक्का भएको हो ।

महिला कबड्डीतर्फ नेपाल ‘समूह बी’मा रहेको छ । उक्त समूहमा नेपालसँगै बङ्गलादेश र इरान छन् । अब नेपालले महिला कबड्डीमा बलियो मानिएको इरानसित खेल्नेछ । इरानले बङ्गलादेशलाई पराजित गरेको अवस्थामा मात्र नेपाल सेमिफाइनल प्रवेश गर्नेछ । यस्तो अवस्थामा नेपालले पदक पाउने पक्कापक्की हुन्छ ।

इरानले १८औँ एसियाली खेलकुदमा पनि महिला कबड्डीमा स्वर्णपदक जितेको थियो । महिला कबड्डीको ‘समूह ए’मा भारत, थाइल्याण्ड, चाइनिज ताइपेइ र दक्षिण कोरिया रहेका छन् । कबड्डीमा सेमिफाइनल पुग्ने चारवटै टोलीले पदक प्राप्त गर्ने प्रावधान रहेको छ ।

महिला भलिबलमा नेपाल दक्षिण कोरियासित पराजित    

उन्नइसौँ एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलमा नेपाल आफ्नो दोस्रो खेलमा दक्षिण कोरियासँग पराजित भएको छ । नेपाल दक्षिण कोरियासँग ३-० को सोझो सेटमा पराजित भएको हो । चीनको हाङ्झाउमा आज भएको खेलमा दक्षिण कोरियाले नेपालाई २५-२१, २५-१४ र २५-११ अङ्कले पराजित गरेको हो ।

नेपाल यसअघि शनिबार भियतनामसँग ३-० सेटले पराजित भएको थियो । ‘समूह सी’मा नेपालसँगै भियतनाम र दक्षिण कोरिया छन् । पुरुष भलिबलमा नेपाल यसअघि नै पराजित भएर स्वदेश फर्किसकेको छ । रासस

Facebook Comments