Thu. Dec 26th, 2024

माछामा रङ्ग प्रयोग नगर्ने मलेखुका व्यवसायीको प्रतिबद्धता

मलेखु (धादिङ), २०८० असोज १६ गते मंगलबार । माछामा खानै नमिल्ने रङ्ग मिसाउने गरेको कुरा चर्चामा आएपछि मलेखुका माछा बिक्री गर्ने होटल व्यवसायीले अखाद्य रङ्गको प्रयोग हटाउन थालेका छन् । गजुरी गाउँपालिका-२ स्थित मलेखुको मजुवा बजारका होटल तथा माछा पसलेहरुले अब आइन्दा माछा तथा अन्य खानामा रङ्गको प्रयोग नगर्ने सामुहिक प्रतिवद्धता जनाएका हुन् ।

‘कालो देखिएको रङ्ग प्रयोग नगरिएको फ्रेस माछा हो’, व्यवसायी जीवन अधिकारीले भन्नुभयो- “रङ्ग दलेर रातो आकर्षक बनाइएका कहिकतै देख्नुभयो भने पनि नखानुहोला । किनकि त्यसमा पकाएर खानै नमिल्ने अखाद्य वस्तुको मिसावट हुनसक्छ ।” त्यस्ता आकर्षक बनाएर राखिएका माछामा अखाद्य वस्तु मिसावट हुने पुष्टी भएपछि स्थानीय होटल व्यवसायी र माछा व्यवसायीले अबदेखि त्यस्ता रङ्गको प्रयोग ठप्पै पार्ने अभियान थालिसकेका छन् ।

अनुगमनकारी निकायहरुलाई नै साक्षी राखेर व्यवसायीहरुले अज्ञानताका कारण माछा राम्रो देखाउन रङ्गको प्रयोग गरेको र त्यसले मानव स्वास्थ्यमा पर्ने असर थाहा भएपछि आफूहरुले सचेत भएर रङ्गको प्रयोग हटाउने अभियान थालिएको उहाँको भनाइ थियोे ।  मजुवा बजारमा ४५ वटा माछा बिक्री गर्ने होटल तथा पसल छन् । सबै व्यवसायीहरुले रङ्ग हटाउने सामूहिक निर्णय नै गरेका छन् । मूल्यमा पनि एकरुपता कायम गर्ने र अटेर गरी राज्यले तोकेको मापदण्ड विपरित रङ्ग प्रयोग तथा अन्य काम गर्नेहरुलाई व्यवसायीहरु आफैले पनि कारबाही प्रकृया अगाडि बढाउने निर्णय गरेका छन् ।

माछा व्यवसायीले सामूहिक प्रतिवद्धता गरेर सधैंका लागि रङ्गको प्रयोग हटाउने निर्णय गरेसँगै नियामक निकाय पनि सकारात्मक बनेको छ । व्यवसायीहरुले बुझाएको प्रतिवद्धतापत्र बुझ्दै जिल्ला अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले व्यवसायीहरुले गर्नुपर्ने काम नगरेको, नगर्नुपर्ने काम गरेको पाइए आगामी दिनमा कानूनअनुसार कडा कारबाही गरिने बताउनुभयो ।

‘रङ्ग दलेर आकर्षक बनाउने चलन नआउँदै पनि मलेखुको माछा वर्षाैदेखि देशभर प्रख्यात थियो । सबैले मिठो मानेर खान्थे । रङ्ग मिसाएर रातो बनाउन थालेपछि पनि स्वाद फेरिएको थिएन’, होटल व्यवसायी संघका जिल्ला अध्यक्ष रामशरण सिलवालले भन्नुभयोे- ‘वर्षाैदेखि प्रख्यात रहेको मलेखुको माछामा राम्रो देखाउनकै लागि हानिकारक रङ्ग मिसावट गरेको खबरले देश विदेशमा समेत मलेखुकै नाम बदनाम भएकोप्रति व्यवसायी दुखित बनेका छन्’, उहाँले भन्नुभयो ।

माछाका थरीथरी परिकार पकाएर चाख्दा चाख्दै उपभोक्ताभन्दा जोखिममा व्यवसायी नै परिरहेको थाहा पाएपछि ती व्यसायीले रङ्ग नमिसाउने साहिक प्रतिवद्धता गरे पनि पेट्रोलपम्प क्षेत्रका व्यवसायीले भने सामूहिक प्रतिवद्धता गर्न सकेका छैनन् । फुर्केखोला क्षेत्रका व्यवसायीले झनै अटेर गरिरहेको उपभोक्ताहरुको गुनासो छ ।

अखाद्य वस्तुको मिसावट चटक्कै छोडेर सफा र मिसावटरहित माछा बिक्री वितरण गर्न सके मलेखुको माछा बजार पहिलेजस्तै प्रख्यात बन्नेछ र व्यवसायले पनि पुरानै गति लिनेछ । रासस

Facebook Comments