Sun. May 19th, 2024

सुन तस्करी प्रकरण : उच्च अदालतका पूर्वन्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय आयोग गठन गरिने

काठमाण्डू, २०८० असोज १४ गते आईतबार । सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीशको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय छानबिन आयोग गठन गर्ने सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भएको छलफलपछि उक्त निर्णय गरिएको छलफलमा सहभागी एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।

“मन्त्रिपरिषदको बैठकले उच्च अदालतका पूर्वन्यायाधीशको संयोजकत्वमा आजै तीन सदस्यीय छानबिन आयोग गठन गर्ने र उक्त निर्णय आजै बस्ने प्रतिनिधिसभाको बैठकमा जानकारी गराउने सहमति भएको छ”, सचेतक बर्तौलाले भन्नुभयो ।

सुन तस्करी प्रकरणका सम्बन्धमा एमालेलगायतका दलले उच्चस्तरीय छानबिन आयोगको माग गर्दै आएकोमा गत भदौ ६ गते सरकार र राजनीतिक दलबीच असोज ५ सम्म उच्चस्तरीय छानबिन आयोग गठन गर्ने र सोही दिनदेखि आयोगले काम गर्ने सहमति भएको थियो । आयोगलाई छानबिनका लागि तीन महिनाको समय दिइनेछ ।

प्रधानमन्त्री दाहालले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने कार्यक्रम छ । सो अवसरमा प्रधानमन्त्री दाहालले आयोग गठनको निर्णयबारे सदनलाई जानकारी गराउनुहुनेछ ।

यसअघि आज विहान प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल भएको थियो । उक्त छलफलपछि प्रधानमन्त्री दाहालले सत्तारुढ दलसँग पनि सो विषयमा छलफल गर्नुभएको थियो । आजको छलफलमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीबाहेकको उपस्थिति थियो । रासस

Facebook Comments