Sat. May 18th, 2024

चीन भ्रमण सोचेभन्दा बढी सफल भयो : प्रधानमन्त्री प्रचण्ड

- प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार तिब्बतको ल्हासास्थित नेपाली महावाणिज्यदूतावासमा आयोजित स्वागत समारोहमा मन्तव्य राख्दै । तस्बिरः प्रदीपराज वन्त, रासस

ल्हासा (चीन), २०८० असोज १० गते बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चीन भ्रमण सोचेभन्दा पनि बढी सफल भएको आफूले महसुुस गरेको बताउनुभएको छ ।

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार तिब्बतको ल्हासास्थित नेपाली महावाणिज्यदूतावासमा आयोजित स्वागत समारोहमा मन्तव्य व्यक्त गर्दै । तस्बिरः प्रदीपराज वन्त/रासस
आज चीनको स्वशासित क्षेत्र ल्हासा आइपुग्नुभएका प्रधानमन्त्री प्रचण्डले ल्हासामा अवस्थित नेपाली महावाणिज्यदूतावासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो, “म अमेरिकादेखि नै आएँ र यस पटकको चीन भ्रमण कस्तो होला भन्ने पनि लागिरहेको थियो । तर अहिले मलाई महसुस भएको छ कि भ्रमण मैले, हामीले सोचेभन्दा पनि फरक भएको छ, सफल भएको छ ।”

यस पटकको आफ्नो चीन भ्रमण यसकारण पनि अन्तर्राष्ट्रियरुपमै चासो रहेको आफूले पाएको उहाँको भनाइ थियो । त्यसैले यो भ्रमणको सफलताका विषयमा सबैतिर चासो रहेको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटवार्ता निकै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै त्यस भेटवार्ताका क्रममा नेपाललाई उहाँले निकै नै महत्त्व दिनुभएको आफूले पाएको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले एसियाली खेलकूद प्रतियोगिताको आयोजना गरेको सहर हाङ्चाउमा चिनियाँ राष्ट्रपति सी सँग भेटवार्ता गर्नुभएको थियो । त्यस क्रममा उहाँले एक्लै र नेपाली प्रतिनधिमण्डलले नै भेटेको र आफूहरुलाई एक घन्टा नै समय दिनुभएको प्रसङ्ग उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “कुनै पनि देशसँग चीनजस्तो देशका राष्ट्रपतिले एक/एक घन्टा समय दिनु भनेको सामान्य होइन, हामीलाई पनि थाहा छ चीनले अरु देशका राष्ट्रप्रमुख तथा सरकारप्रमुखहरूलाई समय दिएको देखे सुनेका छौँ, त्यसैले मलाई लाग्छ यो एक दुर्लभ घटना पनि हुनसक्छ ।”

सो भेटका क्रममा सौहार्दपूर्ण कुराकानी भएको र यसबाट नेपाल-चीन सम्बन्धमा सो भेटवार्ता एक महत्त्वपूर्ण सिद्ध हुने बताउनुभयो । राम्रो समझ्दारी बनेको र राम्रो परिस्थितिको सुरुआत भएकाले यसले आगामी दिनमा राम्रै परिणाम दिने उहाँको भनाइ थियो ।

आफू एसियाली खेलकूदको उद्घाटनदेखि सहभागी भएको र त्यसपछि पैचिङमा आएपछि यहाँका प्रधानन्त्री लि छ्याङसँग पनि त्यस्तै महत्त्वपूर्ण भेटवार्ता भएको उहाँको भनाइ थियो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “भूकम्पपछि तथा कोभिडमा बन्द भएका चीनसँगका नेपालका सबै नाकाहरु खुल्ने सहमति प्रधानमन्त्रीसँगको द्विपक्षीय वार्ताका क्रममा भएको र यसले नेपाललाई अहिले नाका बन्द भएका कारण व्यापार व्यवसाय एवं स्थानीय नागरिकमा उत्पन्न विभिन्न समस्याको समाधान हुनेछ ।”

त्यस क्रममा नेपाल-चीन सम्बन्धका विविध विषयमा चर्चा भएको, दुई देशबीच विभिन्न सहयोग तथा सम्झौता एवं समझदारीपत्रहरुमा हस्ताक्षर भएका र आगामी दिनमा त्यसले नेपालको हितमा योगदान गर्ने उहाँले बताउनुभयो ।

यस भ्रमणबाट नेपाल-चीनबीचमा नयाँ भरोसा उत्पन्न हुनुका साथै नयाँ सहमति र समझदारी बनेको बताउँदै प्रचण्डले यसले नेपालका लागि ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले तिब्बत-नेपाल र चीनबीचको सम्बन्धको सबैभन्दा महत्त्वपूर्ण स्थान रहेको, नेपालसँगका नाकाहरु पनि तिब्बतमै पर्ने भएकाले आगामी दिनमा थप जिम्मेवार भएर काम गर्न महावाणिज्यदूतावासलाई निर्देशन पनि दिनुभयो ।

सबै नाका खुल्ने सहमति भएको जानकारी दिँदै उहाँले त्यसलाई कार्यान्वयनमा ल्याउनका लागि महावाणिज्य दूतावासले सक्रिय रुपमा काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा ल्हासास्थित महावाणिज्यदूत नवराज ढकालले यस महावाणिज्यदूतावासले गर्दै आएका काम कारबाहीका साथै यहाँको अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो । त्यसैगरी तिब्बतमा बसोबास गर्ने नेपालीले प्रधानमन्त्रीसँग आफ्नो बसाइ र यहाँको व्यापार लगायतका विषयमा जानकारी गराउनुभएको थियो ।

Facebook Comments