Sun. May 5th, 2024

गाडीको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु

बैतडी, २०८० असोज १० गते बुधबार । गाडीको ठक्करबाट बैतडीमा एकजना सशस्त्र प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा पाटन नगरपालिका(८ हरिचन घर भई सशस्त्र प्रहरी बाजुरास्थित आश्रित गुल्ममा कार्यरत हबल्दार ४० वर्षीय नरेन्द्रसिंह महरा रहेका छन् ।

बाजुराबाट घर आइरहनुुभएका महरालाई दशरथचन्द राजमार्गअन्तर्गत हरिचन मोडमा गाडीले बिहान ठक्कर दिएको र उहाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो ।

बाजुराबाट बझाङ जाने गाडीमा घर आउनुभएका महरा खोड्पे बजारमा झर्नुुभएको र खोड्पेबाट हिँडेर घर आइरहेका बेला उहाँलाई गाडीले ठक्कर दिएको बताइएको छ । महरालाई ठक्कर दिने गाडीको पहिचान हुनसकेको छैन ।

यसैबीच महरालाई ठक्कर दिने गाडीको पहिचान गर्न माग गर्दै मृतकका आफन्तले दशरथचन्द राजमार्ग अवरुद्ध पारेका छन् ।

राजमार्ग अवरुद्ध हुँदा अहिले तराईबाट बैतडी तथा दार्चुलाका लागि छुटेका सवारीसाधन बीचबाटोमै रोकिएका छन् । घटनास्थलमा प्रहरी टोली पुगिसकेको छ । महरालाई ठक्करदिने सवारीको पहिचान गर्ने कार्य र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । रासस

Facebook Comments