Thu. Dec 26th, 2024

प्रधानमन्त्री प्रचण्ड चीनमा, उच्चस्तरीय भेटवार्ता र विभिन्न कार्यक्रममा व्यस्त

- प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण

चीनको भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङ बीच हाङ्चौमा भेट गर्नुहुँदै । तस्बिर : प्रदीपराज वन्त, रासस

एकराज पाठक/पैचिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उत्तरी छिमेकी देश चीनको औपचारिक भ्रमणका लागि आज शनिबार चीन आइपुग्नुभएको छ । प्रधानमन्त्री प्रचण्ड शनिबार चीनको हाङ्चौ सहर आइपुग्नुभएको हो ।

आज स्थानीय समयअनुसार बिहान साढे १० बजे उहाँ सो सहरको हाङ्चौ विमानस्थलमा अवतरण गर्नुभएको थियो । उहाँलाई सो विमानस्थलमा चीन सरकारका खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष काओ चितानले स्वागत गर्नुभएको थियो । सो अवसरमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छन सोङ पनि हुनुहुन्थ्यो ।

संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा सहभागी भई नेपालका तर्फबाट सम्बोधन गरेपछि प्रधानमन्त्री प्रचण्ड न्यूयोर्कबाट नै चीन आउनुुभएको हो । यही सेप्टेम्बर २२ मा नेपालका तर्फबाट सो महासभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री प्रचण्ड चीनको औपचारिक भ्रमणका लागि यहाँ आउनुभएको हो । प्रधानमन्त्री प्रचण्डको भ्रमणदलमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र अन्य सदस्यहरू पनि हुनुहुन्छ ।

त्यसैगरी आजै प्रधानमन्त्री प्रचण्ड सोही सहरमा आयोजना गरिएको १९औँ एसियन गेमको समुद्घाटन समारोहमा पनि सहभागी हुनुभएको थियो । त्यहाँ उहाँलाई चिनियाँ खेलकुद अधिकारीहरूले स्वागत गर्नुभएको थियो ।

त्यसैगरी आजै हाङ्चौमा नै प्रधानमन्त्री प्रचण्ड चिनियाँ राष्ट्रपति सी चीनफिङले आयोजना गर्नुभएको दिवाभोजमा सहभागी हुनुभएको थियो । त्यस अवसरमा नेपालको भ्रमण दलका अन्य सदस्यहरू पनि सहभागी हुनुभएको थियो ।

आजै प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्नुभएको छ । उहाँहरूबीचको सो वार्तामा द्विपक्षीय हित र चासोका साथै नेपाल-चीन सम्बन्धका विविध विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै प्रधानमन्त्री प्रचण्ड भोलि आइतबार चीनको राजधानी सहर पैचिङ आउनुहुने कार्यक्रम छ । उहाँ आइतबार बिहान ११ः१० बजे पैचिङ आइपुग्ने कार्यक्रम रहेको छ ।

पैचिङमा भोलि हुने नेपाल-चीन बिजनेस समिटको कार्यक्रमलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । पैचिङस्थित नेपाली राजदूतावासको समन्वयमा नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सिसीपिआइटीले सो सम्मेलनको आयोजना गरेका छन् ।

उक्त लगानी सम्मेलनमा नेपाल र चीनका एक सयभन्दा बढी उद्योगी-व्यवसायी सहभागी रहने जनाइएको छ । उक्त सम्मेलनका क्रममा नेपाल र चीनबीच लगानीका क्षेत्र पहिचान गर्नुका साथै नेपालमा लगानी प्रवर्द्धनका विषयमा आवश्यक छलफल हुनेछ ।

आइतबार नै चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले प्रधानमन्त्री र चीन भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डलको सम्मानमा आयोजना गर्नुभएको रात्रिभोजमा सहभागी हुनुहुने कार्यक्रम रहेको छ ।

त्यस्तै सोमबार प्रधानमन्त्री प्रचण्डले चीनको नेसनल पिपुल्स कांग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लचीसँग भेटवार्ता गर्नुहुने छ । सोमबार नै प्रधानमन्त्री प्रचण्डले आफ्ना चिनियाँ समकक्षी चिनियाँ प्रधानमन्त्री लि छ्याङसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने छ । सोही दिन नेपाल र चीनका विविध सहयोग सम्झौतामा पनि हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।

उक्त द्विपक्षीय भेटवार्ता र दुई देशबीचको सहयोग सम्झौतामा हस्ताक्षर गरेपछि प्रधानमन्त्री प्रचण्ड चीनको छोङछिङ्ग महानगरपालिकामा चीनले कृषि र औद्योगिक क्षेत्रमा गरेको विकासको अवलोकन गर्नुहुने कार्यक्रम रहेको छ ।

उक्त महानगरमा आधुनिक कृषि प्रणालीका साथै चीनले अपनाएको आधुनिक खेती प्रणालीबारेमा प्रधानमन्त्रीले जानकारी लिनुहुने कार्यक्रम रहेको छ ।

त्यसपछि प्रधानमन्त्री प्रचण्ड नेपालसँग सिमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जानुहुने छ । तिब्बतमा रहँदा पनि उहाँले त्यहाँका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड आफ्नो प्रतिनिधिमण्डलसहित यही असोज १३ गते नेपाल फर्कनुहुने कार्यक्रम छ । रासस

Facebook Comments