प्रधानमन्त्री प्रचण्डलाई चीनको हाङ चौ विमानस्थलमा भव्य स्वागत, राष्ट्रपति चिनफिङसँग आजै भेटवार्ता हुने
- प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण
जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शनिबार हाङ चौ विमानस्थलमा चीन सरकारका खेलकुद सामान्य प्रशासनमन्त्री तथा चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष काव चितानले स्वागत गर्नुहुँदै ।
काठमाण्डू, २०८० असोज ६ गते शनिबार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ न्यूयोर्कबाट आज चीन पुग्नु भएको छ। अमेरिकाको भ्रमण सकेर हङकङ हुँदै प्रधानमन्त्री प्रचण्ड आजै बिहान चीनको हाङ चौ आइपुग्नु भएको हो ।

हाङ चौ विमानस्थल अवतरण गर्नुभएका प्रधानमन्त्री प्रचण्डलाई चीन सरकारका खेलकुद मन्त्री तथा चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष काओ चितानले भव्य स्वागत गर्नुभयो । आजै चीनका राष्ट्रपति सी चिनफिङले प्रधानमन्त्री प्रचण्डसँग दिवा भोजसहित भेटघाट गर्ने कार्यक्रम रहेको छ । संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरी प्रधानमन्त्री प्रचण्ड शुक्रबार न्यूयोर्कबाट चीन जानुभएको हो । हाङ चौमा हुने एसियाली खेलकुदको उद्घाटन समारोहमा सरिक हुनुअघि प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति चिनफिङसँग भेटवार्ता गर्नुहुने बताइएको छ ।

भोलि आइतबार चीनको राजधानी पैचिङ जानुहुने प्रधानमन्त्री प्रचण्डले आगामी सोमबार चिनियाँ प्रधानमन्त्री लि छ्याङ्सँग भेटवार्ता गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले छोङछिङ महानगरपालिकामा रहेको छोङछिङ एकेडमी अफ एग्रीकल्चरल साइन्सको अवलोकन पनि गर्नुहुनेछ ।

पैचिङबाट छन्तु हुदै प्रधानमन्त्री प्रचण्ड आगामी शनिबार स्वदेश फर्कने कार्यतालिका रहेको छ ।

