Mon. May 13th, 2024

काठमाण्डूमा नयाँ चीन स्थापनाको ७४औं वार्षिकोत्सव

रमेश हतुवाली/काठमाडौं । नयाँ चीन स्थापनाको ७४ औं वार्षिकोत्सवको उपलक्ष्यमा काठमाण्डूमा एक कार्यक्रमको आयोजना गरिएको छ ।

China 74 Years C1695376122.jpg

काठमाण्डूस्थित चिनियाँ राजदूतावासले होटल हायात रिजेन्सीमा हिजो (बिहीबार) साँझ नयाँ चीन स्थापनाको ७४ औं वार्षिकोत्सवको उपलक्ष्यमा स्वागत कार्यक्रमको आयोजना गरेको हो । उपराष्ट्रपति राम सहाय प्रसाद यादवको प्रमुख आतिथ्यतामा सम्पन्न सो स्वागत समारोहमा बोल्नुहुँदै नेपालका लागि चिनियाँ राजदूत छन सोङले नयाँ चीन स्थापनाको ७४ वर्षदेखि बिआरआई परियोजनासम्म भएका उपलब्धिहरुबारे चर्चा गर्नुभयो ।

China 74 Years A1695376154.jpg

राजदूत छन सोङले सन् १९४९ अक्टोबर १ का दिन चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चिनियाँ क्रान्ति सम्पन्न भएपछि चीनलाई एकताबद्ध गर्दै आधुनिक राष्ट्रमा रुपान्तर गर्ने महान चुनौतीहरु चीनले पार गरेको बताउनु भयो । नयाँ चीन स्थापनाको ७४ वर्षमा १ अर्ब ४० करोड जनताको साथ र सहयोगबाट चीनलाई महान समाजवादी देशमा परिवर्तन गर्ने अभियान अघि बढिरहेको पनि राजदूत छन सोङको भनाइ छ ।

चिनियाँ राजदूत छन सोङले चीनको आधुनिकीकरण विश्वका लागि पनि राम्रो अवसर भएको बताउँदै चीनको विकासले समग्र विश्वको शान्ति र विकासलाई योगदान दिईरहेको प्रष्ट पार्नुभयो । यस वर्ष बेल्ट एण्ड रोड परियोजना प्रस्ताव भएको १० वर्ष पुगेको जानकारी गराउनुहुँदै राजदूत छन सोङले बिआरआई विश्वमा साझा विकासलाई प्रोत्साहन दिने परियोजना भएको बताउनु भयो । विगत ७ वर्षदेखि नेपालमा बैदेशिक लगानीको सबैभन्दा ठूलो श्रोत चीन रहेको भन्दै राजदूत छन सोङले विआरआईको सदस्य देशको हैसियतमा चीनको समृद्धि र आर्थिक विकासबाट नेपाललाई पनि लाभ हुने विश्वास व्यक्त गर्नुभयो ।

स्वागत समरोहमा पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल, माधव कुमार नेपाल, शेर बहादुर देउवा, कार्यबहाक प्रधानमन्त्री पूर्ण बहादुर खड्का, पूर्व सभामुख अग्नि प्रसाद सापकोटा, पूर्वमन्त्रीहरु सुजाता कोइराला, वर्षमान पुन, नेपाली सेनाका उच्चपदस्थ अधिकारीहरु, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु, नेपालस्थित विभिन्न देशका कुटनीतिज्ञ लगायत विभिन्न महानुभावहरुको उपस्थिती रहेको थियो ।

Facebook Comments