Sat. Nov 23rd, 2024

सरकार र शिक्षक महासङ्घबीच शुक्रबार(भोलि) बिहान वार्ता गर्ने सहमति   

- देशभरका सामुदायिक विद्यालय बन्द

काठमाण्डू, २०८० असोज ४ गते बिहीबार । विभिन्न माग राखी यही असोज ३ गतेदेखि आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घ र सरकारबीच आज भएको वार्ता सकारात्मक निश्कर्षसहित टुङ्गिएको छ ।

कानून, न्याय, तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले महाङ्घसँगको आजको छलफल सकारात्मक रहेको र शुक्रबार बिहान ८ बजे पुनः वार्तामा बसेर सहमति गर्ने टुङ्गो लागेको बताउनुभयो । “आज सकारात्मक छलफल भएको छ । बिहानको भन्दा अहिले बुँदागत रुपमा छलफल भएको छ । उहाँहरूले जुन माग राख्नुभएको थियो, त्यसैमा रहेर आज छलफल भएको छ । भोलि बिहानसम्म टुङ्गिन्छ”, उहाँले भन्नुभयो ।

त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले पनि छलफल सकारात्मक रहेकाले समस्याका समाधान हुनेमा आशावादी रहेको बताउनुभयो । राससका अनुसार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थ मन्त्री डा. प्रकाशशरण महत पनि वार्तामा सहभागी हुनुहुन्थ्यो ।

शिक्षक महासङ्घ र सरकारका बीच आज बिहान पनि वार्ता भएकोमा सहमति जुट्न सकेको थिएन ।

Facebook Comments