Tue. Dec 24th, 2024

आज नेप्से उच्च अंकले वृद्धि

भिओके समाचार/काठमाण्डू, २०८० असोज ४ गते बिहीबार । साताको अन्तिम कारोबार दिन आज शेयर बजार उच्च अंकले वृद्धि भएको छ । पछिल्ला दुई कारोबार दिनदेखि बढिरहेको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो । आज नेप्से परिसूचक ४४.३४ अंक बढेर २०२९.७८ विन्दुमा पुगेको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । सामान्यतः १ अर्बको कारोबार हुँदै आएको बजारमा आज भने ३ अर्ब २९ करोड पुग्यो । कुल २१७ कम्पनीको मूल्य बढ्दा ११ को घट्यो भने २ को स्थिर रह्यो । आज १० वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । नेशनल हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, स्वाभिमान लघुवित्त, हिमाल दोलखा हाइड्रोपावर, मन्दाकिनी हाइड्रोपावर, थ्रीस्टार हाइड्रोपावर, न्यादी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, अरुण काबेली हाइड्रोपावर, आँखुखोला जलविद्युत् कम्पनी लगायतका स्टकहरु सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

कारोबार रकमका आधारमा आज सन नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २० करोड १८ लाख ३६ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, रिलायबल नेपाल लाइफको करिब १४ करोडको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्ट्सको साढे १० करोडको शेयर किनबेच भएको छ ।

आज १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये जलविद्युत् उपसमूहको परिसूचक सर्वाधिक ५.३१ प्रतिशत बढेको छ । त्यसैगरी, वित्त उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक उपसमूहको परिसूचक करिब ४ प्रतिशत बढेको छ । लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको शेयर धितो कर्जामा १२ करोडको सीमा हाटउन तयारी गरेसँगै सेयर बजारमा हरियाली छाएको हो । मंगलबार बसेको वित्तीय क्षेत्र उच्चस्तरीय समन्वयन समितिको छलफलमा गभर्नर महाप्रसाद अधिकराीले १२ करोडको सीमा हटाउने जानकारी दिनुभएको थियो ।

शेयर लगानीकर्ताले व्यक्तिगत रुपमा १२ करोडको सीमा पर्याप्त रहे पनि सेयर बजारमा लगानी गर्ने उद्देश्यले आएका कम्पनीमा उक्त सीमा व्यावहारिक नभएको बताउँदै आएका थिए । सबै क्षेत्रबाट आलोचना भएपछि १२ करोडको सीमा हटाउने तयारीसँगै सेयर बजारमा आज हरियाली छाएको अनुमान गरिएको छ ।

Facebook Comments