Tue. Dec 24th, 2024

बैंक ब्याजदर बढेपछि शेयर बजारमा ठूलो गिरावट

भिओके समाचार/काठमाण्डू, २०८० भदौ ३१ गते आईतबार । वाणिज्य बैंकहरूले ब्याजदर बढाएपछि आज शेयर बजार ठूलो अंकले घटेको छ । साताको पहिलो कारोबार दिन शेयर कारोबार मापक नेप्से परिसूचक ४२.१४ अंक घटेर १९६४.९१ विन्दुमा झरेको छ । नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ ।

अघिल्लो कारोबार दिन डेढ अर्बको शेयर खरिदबिक्री भएकोमा आज २ अर्ब २ करोड ८४ लाख ६५ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज शुभम् पावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य ८९ रुपैयाँ ६० पैसा बढेर ९८५ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ । त्यस्तै, थ्रीस्टार हाइड्रोपावरको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ । मोलुङ्ग हाइड्रोपावरको शेयरमूल्य भने सर्वाधिक ९.२१ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा आज एनआईसी एशिया शीर्ष स्थानमा रहेको छ । सो बैंकको २७ करोड ५४ लाख ७३ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको २४ करोड ५२ लाख ९३ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

आज १३ वटै उपसमूहको परिसूचक घटेको छ । व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.३३ प्रतिशत घटेको छ । वित्त र होटल तथा पर्यटन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, जलविद्युत्, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक साढे २ प्रतिशतभन्दा बढी घटेको छ । आज वाणिज्य बैंकहरुले प्रकाशित गरेका नयाँ ब्याजदरको प्रभाव परेको हो । बैंकहरुले ब्याजदर बढाएर ११ प्रतिशतभन्दा माथि पु¥याएका छन् । यसैको प्रभाव बजारमा परेको हो ।

Facebook Comments