Thu. May 7th, 2026

३४ वर्षपछि सिरहाको सर्रे अम्बासमा एमालेको बैठक बस्दै

       

लहान (सिरहा), २०८० भदौ १३ गते बुधबार । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज सिरहाको धनगढीमाई नगरपालिका–१४ सर्रे अम्बासमा बस्ने भएको छ ।

नेकपा (एमाले)का केन्द्रीय सचिव तथा मधेस प्रदेश इन्चार्ज योगेशकुमार भट्टराईका अनुसार पूर्वनिर्धारित योजनाअनुसार नै आज पार्टीको सचिवालय बैठक बस्न लागेको हो । बिहान ११:३० बजे बस्ने बैठककको सबै तयारी पूरा भएको छ ।

यस अघि यही भदौ ९ गतेका लागि तय भएको सचिवालय बैठक निरन्तरको वर्षाका कारण प्रतिकूल स्थिति सिर्जना भएकाले आजका लागि सारिएको थियो । सचिवालय बैठक बस्न लागेको स्थानमा नेकपा (माले) ले २०४६ भदौ ९ गतेदेखि १४ गतेसम्म भूमिगत समयमा चौथो महाधिवेशन गरेको थियो । सो महाधिवेशनले मदन भण्डारीलाई पार्टीको महासचिव चुनेको थियो । त्यसको करिब ३४ वर्षपछि सोही स्थानमा सचिवालय बैठक बस्न लागेको छ ।

“चौथो महाधिवेशन नीति, कार्यक्रम र नेतृत्वका हिसाबले अग्रगामी रहेको थियो”, सचिव भट्टराईले भन्नुभयो, “एमालेको विचार निर्माणमा त्यो महाधिवेशन ऐतिहासिक थियो । त्यसैको सम्झनास्वरुप बैठक यही स्थानमा तय गरिएको हो ।”

सचिव भट्टराईले यस ठाउँको भौतिक पूर्वाधारको विकास, नेपालको कम्युनिष्ट आन्दोलनको अध्ययन केन्द्र, कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको उपलक्षमा आज नै एमाले अध्यक्ष केपी शर्मा ओलीबाट कम्युनिष्ट आन्दोलनको स्तम्भ सोही ठाउँमा शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको जानकारी दिनुभयो । त्यस्तै उक्त स्थानलाई वैचारिक तथा सैद्धान्तिक पर्यटकस्थलका रूपमा विकास गरिने उहाँले बताउनुभयो । रासस

Facebook Comments