Sat. May 18th, 2024

एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक भोलि बिहान ८ बजेसम्मका लागि स्थगित  

काठमाण्डौं, २०८० भदौ ५ गते मंगलबार । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समितिको बैठक भोलि बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ ।

बालकुमारीस्थित कान्तिपुर गार्डेन ब्याङ्क्वेटमा आजदेखि सुरु भएको छैटौँ बैठकमा प्रस्तुत भएका विभिन्न प्रतिवेदनमा छलफल जारी रहेकाले भोलि बिहानसम्म स्थगित गरिएको हो । आजको बैठकमा राजनीतिक प्रतिवेदन लेखा आयोग र निर्वाचन आयोगको प्रतिवेदन पेश गरिएको उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा सैद्धान्तिक वैचारिक दृष्टिकोण, नेपाली समाजको विशिष्ट अवस्था, भूराजनीतिक परिस्थिति, समाजवादी व्यवस्थालगायत विषय उल्लेख गरिएको छ । अध्यक्ष नेपालले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा नेकपा (एमाले) बाट अलग हुनुको औचित्य पुष्टि भएको भनिएको छ ।

उक्त प्रतिवेदनमा सम्मानित नेता झलनाथ खनालले फरक मत राख्दै पार्टी विद्रोहको औचित्य, समाजवादी मोर्चा र जबजबारे टिप्पणी गर्नुभयो । बैठकमा अन्य नेताहरूले राजनीतिक प्रतिवेदनमा भोलि धारणा राख्नुहुनेछ । पार्टी मातहतका कमिटी तथा जनवर्गीय सङ्गठनले गरेका कार्यप्रगतिको समीक्षा गरिने बैठकमा पार्टीका भावी योजनाबारे आवश्यक रणनीति तय गरी त्यसलाई अनुमोदन गरिने छ ।

पार्टीका महासचिव घनश्याम भुसालको साङ्गठनिक प्रतिवेदनमा छलफल भएपछि बैठकमा महाधिवेशनको मिति र स्थान घोषणा गरिने छ ।

Facebook Comments