Tue. Dec 24th, 2024

हिल्सा-सुर्खेत सडक बन्नेमा विश्वस्त रहन प्रधानमन्त्रीको आग्रह

सुर्खेत, २०८० भदौ ४ गते सोमबार । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले चीनदेखि कर्णाली जोड्ने हिल्सा–सुर्खेत सडक यसै पटक बन्नेमा विश्वस्त रहन आग्रह गर्नुभएको छ ।

आज कर्णाली प्रदेश स्थापना दिवस समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले कर्णाली काेरिडोर, कर्णाली राजमार्ग भेरी कोरिडोरलगायतका ठूला सडकलाई प्राथमिकतामा राखेर चीन सरकारको भ्रमणका क्रममा थप प्राथमिक पाउने गरी आफु लाग्ने बताउनुभयो । उहाँले बेरोजगारीको अन्त्य गरी गरिबी निवारण तथा आर्थिक रुपान्तरणका लागि कर्णाली प्रदेश सरकारको समृद्धि अभियानलाई संघीय सरकारको पूर्ण साथ र सहयोग रहने बताउनुभयो ।

जनयुद्धको नेतृत्व कर्णालीमै बसेर गरेको आफूलाई ताजै रहेको भन्दै उहाँले कर्णालीको गरिबी र भूगोलका बारेमा जानकार रहेको जनाउनु भयो । उहाँले कर्णाली, सुदूर पश्चिम र मधेश प्रदेशको समुन्नत विकास नगरी देशको समृद्धि नहुने भएकाले उच्च प्राथमिकतामा राखेर अघि बढेको समेत उल्लेख गर्नु भयो । परिमार्जनसहित संघीय शिक्षा ऐन, सहमतिका आधारमा निजामती ऐन अन्तिम चरणमा पुगिसकेकाले छिट्टै संसदमा प्रस्तुत गरि पारित गर्ने तयारी रहेको उहाँले जानकारी दिनुभयो ।

रेडियो नेपालका अनुसार संघीय शासन प्रणालीको मूल मर्म नै लोकतान्त्रिक लाभको समानुपातिक, समावेशी र न्यायोचित वितरणलाई आम जनतासम्म बिस्तार गर्नु भएको प्रधानमन्त्री दाहालको भनाई थियो । कार्यक्रममा कर्णालीका प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको वस्तुस्थिति बुझ्नु भएका प्रधानमन्त्री दाहालले कर्णालीको समृद्धिका लागि आफ्नै पालामा केही गरेर देखाउनु हुनेमा आफु विश्वस्त रहेको जिकिर गर्नुभयो ।

कार्यक्रममा कर्णाली प्रदेशमा प्रमुख प्रतिपक्ष दलका नेता यामलाल कँडेल, पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले समेत प्रदेश राजधानी सुर्खेतदेखि चीन सीमा नाकासम्म पुग्ने सडक र हाल रहेका विमानस्थलहरूको स्तरोन्नति गरिदिन प्रधानमन्त्रीलाई आग्रह गर्नु भएको थियो ।

Facebook Comments