Tue. Dec 24th, 2024

प्रधानसेनापतिसँग तिब्बत सैनिक कमाण्डका मेजर जनरलको शिष्टाचार भेट

काठमाण्डू, २०८० साउन ३१ गते बुधबार । प्रधानसेनापति प्रभुराम शर्मासँग चिनियाँ जनमुक्ति सेनाको तिब्बत सैनिक कमाण्डका मेजर जनरल युई एण्डीले शिष्टाचार भेट गर्नुभएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा उहाँहरूबीच आज भएको भेटमा दुई पक्षीय हित तथा आपसी चासोका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

मेजर जनरल एण्डीको नेतृत्वमा नेपालको पाँच दिवसीय भ्रमणमा आठ सदस्यीय सीमा सुरक्षा टोली आजै आएको हो । उक्त टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपरथी सागरबहादुर थापाले स्वागत गर्नुभएको थियो ।

टोलीले सैनिक कमाण्ड तथा स्टाफ कलेज, सैनिक सङ्ग्रहालयलगायतका सैनिक इकाई तथा काठमाण्डू र पोखरास्थित ऐतिहासिक एवं पर्यटकीय स्थलको भ्रमण अवलोकन गर्नेछ ।

यस खाले भ्रमणले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्नाका साथै नेपालको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्न नेपाली सेनाले विश्वास लिएको छ ।

Facebook Comments