Fri. May 17th, 2024

काठमाण्डू-तराई द्रुतमार्गको डिपिआर संशोधन

काठमाण्डू, २०८० साउन ३१ गते बुधबार । काठमाण्डू-तराई-मधेश द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) संशोधन गरिएको छ । लागत समय र लागत मूल्य घट्ने गरी द्रुतमार्गको प्रतिवेदन संशोधन गरिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिनुभयो । मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले काठमाण्डू-तराई-मधेश द्रुतमार्गको डिपीआर संशोधनको निर्णय गरेको हो । झण्डै रु दुई अर्ब दुई करोड लाग्ने र निर्माणको समय पनि घट्नेगरी द्रुतमार्गको डिपीआर संशोधन भएको मन्त्री ज्वालाले बताउनुभयो । उहाँले भन्नुभयो, “सुरुङ मार्ग थपिँदा सडकको लम्वाइ र मूल्य दुबै घट्यो ।”

काठमाण्डू-मधेश ‘लाइफ लाइन’ का रुपमा रहेको द्रुतमार्ग नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ । वि.सं. २०७४ वैशाख २१ देखि निर्माण सुरु गरिएको काठमाण्डू-तराई-मधेश द्रुतमार्ग हालसम्म २५ दशमलव ५४ प्रतिशत मात्र प्रगति भएको र विसं २०८३ साल चैत मसान्तसम्म सक्ने लक्ष्य लिइएको छ । द्रूतमार्गको प्रगति कमजोर देखिएपछि मन्त्री ज्वालाले नेपाली सेनासँग असन्तुष्टी जनाउनुभयो । द्रुतमार्गको काम द्रुतगतिमा हुनुपर्ने भए पनि प्रगति हेर्दा आशावादी नभएको नेपाली सेनाका अधिकारीलाई मन्त्री ज्वालाले बताउनुुभएको थियो ।

प्रतिवेदन संशोधन भएपछि लागत मूल्य पनि घट्ने भएको छ । रु दुई खर्ब १३ अर्ब नौ करोड ५३ लाखको लागत रहेकामा संशोधनपछि रु दुई खर्ब ११ अर्ब नौ करोड ३० लाख आयोजनाको लागत रहने भएको छ । रासस

Facebook Comments