Sun. May 19th, 2024

भारतको ७७ औं स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री मोदीद्वारा देशवासीका नाममा सम्बोधन, भ्रष्टाचारका विरुद्ध संघर्ष गर्न आग्रह

काठमाण्डू, २०८० साउन ३० गते मंगलबार । स्वतन्त्रता दिवसको ७७ औं वर्षगाँठका अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीका नाममा सम्बोधन गर्नुभएको छ ।

सम्बोधनको सुरुमै देशवासीलाई परिवारका सदस्यको रुपमा चित्रण गर्नुभएका मोदीले झण्डै ९० मिनेट लामो सम्बोधनमा सन् २०१४ को निर्वाचन, भ्रष्टाचार विरुद्धको अभियान, दासत्वको अवधिमा भारतीय जनताले विताउनु परेको पीडा, महंगी र भारतको विकासका विविध पक्षमा चर्चा गर्नुभयो ।

पछिल्ला दिनहरुमा उत्तरपूर्वी राज्य मणिपुरमा भएका हिंसा र सो हिंसामा महिलाहरुमाथि गरिएको अत्याचारले महाराष्ट्रको छातीमा पीडा भएको मोदीले बताउनु भयो । देश मणिपुरको साथमा रहेको र केन्द्र सरकारले राज्य सरकारसँग मिलेर मणिपुरमा विद्यमान समस्याहरुको समाधान खोज्ने प्रधानमन्त्री मोदीले सम्बोधनमा उल्लेख गर्नुभयो ।

भारतलाई विकसित देशमा रुपान्तरण गर्ने योजना सम्बोधनमा प्रस्तुत गर्नुहुँदै मोदीले सन् २०४७ मा भारतको झण्डा विकसित देशको रुपमा फहरिनु पर्नेमा जोडदिनुभयो । भारत इतिहासमा सुनको चराको रुपमा विश्वभरी चिनिएको भन्दै प्रधानमन्त्री मोदीले अब फेरी भारतलाई सुनको चरामा रुपान्तरण गर्नुपर्ने बताउनु भयो । प्रधानमन्त्री मोदीले देशमा विद्यमान लोकतन्त्रमा परिवारवाद हावी भएको भन्दै देश विकासका लागि राजनीति र राज्य सञ्चालनमा विद्यमान परिवारवादको अन्त हुनुपर्नेमा जोडदिनु भयो ।

भ्रष्टाचारले मुलुकलाई अघि बढ्न नदिएको प्रसंग उल्लेख गर्नुहुँदै उहाँले अब भ्रष्टाचारका विरुद्ध आँखा चिम्लने समय नभएको प्रष्ट पार्नुभयो । आफ्नो शासनको १० वर्षमा भारतको अर्थतन्त्र विश्वको दशौं स्थानबाट पाँचौं स्थानमा पुगेको पनि मोदीले उल्लेख गर्नुभयो । प्रधानमन्त्री मोदीले कृषि क्षेत्रको विकासका लागि कृषक समुह र कृषि विज्ञहरुलाई आधुनिक प्रविधिको ज्ञान दिने व्यवस्था गरिने बताउनु भयो ।

Facebook Comments