Thu. Dec 26th, 2024

शेयर बजार दोहोरो अंकले वृद्धि

भिओके समाचार/काठमाण्डू,२०८० साउन २८ गते आइतबार । साताको पहिलो कारोबार दिन आज शेयर बजार दोहोरो अंक बढेर बन्द भएको छ । पछिल्लो दुई कारोबार दिनदेखि उकालो लागिरहेको शेयर बजार मापक नेप्सेले आज पनि सोही गतिलाई निरन्तरता दिएको हो ।

आज नेप्से परिसूचक १४.८१ अंक बढेर २०८०.८६ विन्दुमा पुगेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन २ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएकोमा आज २७१ स्टकको ९५ हजार ९६५ पटकको कारोबारमा ३ अर्ब १ करोड ८४ लाख ६० हजार रुपैयाँ बराबरको ९७ लाख १८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

आजदेखि कारोबारमा आएका तीन स्टकमध्ये दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने एक स्टकको नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज थ्रीस्टार हाइड्रोपावर र अप्पर साङ्गे हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने घोराही सिमेन्ट्सको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज माउन्टेन इनर्जीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी वृद्धि भएको छ ।

कारोबार रकमका आधारमा आज नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ५८ करोड ४५ लाख रुपैयाँ बराबरको संस्थापक शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, घोराही सिमेन्ट्सको २३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ । १३ उपसमूहमध्ये आज ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ । निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.२१ प्रतिशत बढेको छ । बैंकिङ्ग र होटल तथा पर्यटन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । वित्त, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक भने घटेको छ ।

Facebook Comments